समाजिक अभियन्ता, गायक, नायक तथा चलचित्र निर्माता निर्देशक एबम सङ्गीत प्रेमी रिटायर्ड क्याप्टेन पूर्ण लिम्बु साहेबलाई संघीय संसद्मा श्रम संस्कृति पार्टीबाट समानुपातिक आदिवासी जनजाती कोटाबाट सांसद पदमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।
वहाँको जीवन यात्रा मुख्यतः सैनिक सेवा, गोर्खा समुदायको कल्याण र ऐतिहासिक स्मारक संरक्षणसँग जोडिएको छ । वहाँ नेपालको पूर्वी पहाडी क्षेत्रको संखुवासभा जिल्लामा जन्मनुभएको हो । पहाडी ग्रामीण परिवेशमा हुर्केका कारण अनुशासन, मेहनत र सामुदायिक संस्कारले वहाँको व्यक्तित्व निर्माणमा ठूलो भूमिका खेलेको मानिन्छ । सानैदेखि गोर्खा सैनिक बन्ने सपना बोकेर वहाँले आफ्नो जीवनको लक्ष्य सैनिक सेवातर्फ केन्द्रित गर्नु भएको थियो ।
वहाँ पारिवारिक रूपमा परम्परागत मूल्य, कर्तव्य र सम्मानलाई महत्व दिने वातावरणमा हुर्किनुभएको हो । सैनिक सेवाको लामो समय विदेशमा बिताए पनि हाँको आफ्नो परिवार र समुदायसँग निरन्तर सम्बन्ध कायम राख्नुभएको थियो । सैनिक जीवनबाट अवकाशपछि पनि वहाँ परिवारसहित नेपालमै सामाजिक सेवामा सक्रिय रहनु भएको छ ।
प्रारम्भिक शिक्षा नेपालमै प्राप्त गरे पनि गोर्खा सैनिकको रूपमा भर्ती भएपछि वहाँले विभिन्न सैन्य तालिमहरू पूरा गर्नुभयो । आफ्नो करियरको एक महत्त्वपूर्ण चरणमा उहाँले बेलायतको प्रतिष्ठित सैन्य प्रशिक्षण संस्थान Royal Military Academy Sandhrust मा प्रशिक्षकको रूपमा काम गर्ने अवसर पाउनुभएको थियो । यहाँ वहाँले नयाँ गोर्खा सैनिकहरूलाई नेतृत्व, अनुशासन र आधुनिक सैन्य कौशलसम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
बेलायती सेनाको प्रसिद्ध गोर्खा इकाइ Brigade of Gurkhas मा २८ वर्ष सेवा पूरा गर्नुभयो । सेवाकालमा वहाँले विश्वका विभिन्न स्थानहरूमा सैन्य तथा शान्ति अभियानमा काम गर्नुभएको थियो, जस्तै: अफगानिस्तान, बोस्निया, सिएरा लियोने, फकल्याण्ड भ्याटरान, ब्रुनाई हङकङ, जर्मनी आदि ठाउँमा तालिम र युद्धमा समावेश हुनुभएको थियो । यी अभियानहरूले वहाँलाई अन्तर्राष्ट्रिय स्तरको सैन्य अनुभव दिलायो र गोर्खा सैनिकहरूको प्रतिष्ठा बढाउन योगदान पुर्यायो ।
सैनिक सेवाबाट अवकाशपछि वहाँले The Gurkha Welfare Trust सँग काम गर्नुभयो । वहाँले Welfare Officer/Senior Welfare Officer को रूपमा पूर्वगोर्खा सैनिक र उनीहरूको परिवारलाई सहयोग गर्ने काम गर्नुभयो । वहाँले भोजपुर, खाद्बारीलगायत क्षेत्रमा काम गर्दै पछि धरानमा Senior Welfare Officer को रूपमा सेवा गर्नुभयो ।
कोरोना भाइरस महामारीले विश्वनै ग्रसित भएको अवस्थामा जनताको घरदैलोमा पुगी उचित राहत व्यवस्थापन र २०७२ सालमा महाभूकम्पको संकटकालीन परिस्थितिमा पनि अहोरात्र खटेर जनसमुदाय बिचमा सहयोग पुर्याउने साथै अन्य विभिन्न किसिमका उत्पीडनमा परेका अशक्त, निमुखा र गरीब मानिसहरुको मनोबल उच्च पार्न व्याक्तिगत तवरमा सहयोग गर्न निरन्तर जुट्नु भएकोमा राष्ट्रियस्तरबाट प्रवल जनसेवाश्री (चतुर्थ) पदकबाट रास्ट्रपति विद्यादेवि भण्डारीबाट विभूषित हुनुभयो ।
संखुवासभा खाम्लिङ गाउँको खानेपानी तथा आधारभूत आवश्यकतालाई सहयोग गर्न चलचित्र “नाम्लो” बनाएर नेपाल, बेलायतलगायत संसारमा प्रदर्शन गर्नुभयो ।
धरानमा रहेको Gurkha Memorial Park को विकास र व्यवस्थापनमा वहाँ संयोजकका रूपमा काम गरी प्रोजेक्ट सफलताकासाथ सम्पन गरी हस्तान्तरण गर्नुभयो । यो पार्कको उद्देश्य गोर्खा सैनिकहरूको इतिहास र बलिदान सम्झनु, नयाँ पुस्तालाई गोर्खा परम्परा चिनाउनु र धरानलाई ऐतिहासिक पर्यटन केन्द्र बनाउनु हो ।
क्याप्टेन पूर्ण लिम्बुको जीवन यात्रा पूर्वी नेपालको साधारण गाउँबाट सुरु भएर अन्तर्राष्ट्रिय सैन्य सेवासम्म पुगेको प्रेरणादायी कथा हो । सैनिक सेवाबाट अवकाशपछि पनि वहाँले गोर्खा समुदाय, पूर्व सैनिक कल्याण र Gurkha Memorial Park को विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ ।
नेपालमा जेन्जी आन्दोलनपछिको राजनैतिक परिवर्तनले उदाएको एक बैकल्पिक शक्ति “श्रम संस्कृति पार्टी” मा आवद्ध भई योग्य ठहरिएर समानुपातिक सांसद निर्वाचित भएकोमा अन्त्यमा फेरि पनि हार्दिक बधाई तथा सफल कार्यकालको लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।
– डम्बर सिंगक लिम्बु






