बेलायत – नेपाल पत्रकार महासंघ (एफएनजे) युकेको आज सम्पन्न बैठकले पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन र संस्थागत विकासका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार, १७ मार्च २०२६ मा जुममार्फत आयोजित उक्त बैठकले आगामी अप्रिल महिनामा नेपाल पत्रकार महासंघ केन्द्रका पदाधिकारीहरूलाई आमन्त्रण गरी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।
महासचिव खेमराज रानाभाटद्वारा सञ्चालित बैठकले बेलायतका विभिन्न क्षेत्रमा रहेका सामाजिक संस्थाहरूसँगको समन्वयलाई प्राथमिकतामा राखेको छ। जसअन्तर्गत वेल्समा स्थापित सामाजिक संस्थाहरूसँग अन्तरक्रिया र पत्रकारिता तालिम सञ्चालन गरिने भएको छ। संस्थाले निकट भविष्यमै बर्मिङ्घम, मिडल्याण्ड र स्कटल्याण्डमा समेत यस्ता कार्यक्रमहरू विस्तार गर्ने योजना बनाएको छ। यसका साथै, महासंघले आगामी १० जुलाई २०२६ मा आफ्नो स्थापना दिवस भव्य रूपमा मनाउने निर्णय गरेको छ।
बैठकमा आगामी समरमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गर्ने कार्यक्रममा युके शाखाकी अध्यक्ष विमला सेनेलगायत पदाधिकारीलगायत कार्यसमितिका सदस्यहरु सहभागी हुने इच्छा व्यक्त गरिएको छ, जसले बैदेशिक शाखाहरुबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
बैठकमा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी, एफएनजे युकेका केन्द्रीय प्रतिनिधि चिम्खोले काइँला, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमिला लाबुङ राई, कोषाध्यक्ष एसके गुरुङ, र कार्यसमिति सदस्यहरू मिलन तमु तथा नगेन्द्र नेम्वाङको सक्रिय उपस्थिति रहेको थियो।
बैठकले कार्यसमितिका सचिब विश्वास दिप तेगेला एनआरएन आइसिसीको उपाध्यक्षमा र कार्यसमितिका सदस्य नगेन्द्र नेम्वाङ पाचथर समाज युकेका अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई दिएको छ।
त्यस्तै बैठकमा महासचिब रानाभाटले एफएनजे युकेले नेपाल पत्रकार महासंघ कन्चनपुर जिल्ला शाखा अध्यक्षसमेत रहेका धामीको उपचार सहयोगका लागि नेपाली रुपैयाँ ६५ हजार ५०० रुपैयाँ रकम मंगलबार नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला आचार्यलाई हस्तान्तरण गरिएको र सहयोग हस्तान्तरणका क्रममामा पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, बेलायत शाखाका सचिब विश्वास दिप तिगेला र सदस्य तथा सितलपाटी न्यूजका सम्पादक वाचस्पति रेग्मीलगायतको उपस्थिति रहेको जानकारी दिए ।






