नेपालमा गुरुङ गृहमन्त्री बनेपछि पक्राउ परे पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्म

SHARE:

लन्डन १ अप्रिल २०२६ । नेपालमा सुधन गुरुङले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि राज्यका उच्च ओहदामा पुगेका पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्मका व्यक्तिहरु पक्राउ परेका छन् ।

चैत १३ मा गृहमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका गुरुङले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन र तत्कालीन सरकारले उन्मुक्ति दिँदै आएका आरोपितहरुलाई पक्राउ गराएका हुन् । गुरुङले शपथ लिएको भोलिपल्ट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुण्डुस्थित निवासबाट पक्राउ परे । सोही बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए । लेखकलाई पनि भक्तपुरकै कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सिफारिस भएबमोजिम ओली र लेखकलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । चैत १३ शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

यस्तै चैत १५ राति एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परिन् । एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई १५ चैतमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुढानीलकण्ठबाट पक्राउ गर्‍यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।

नेकपा एमालेका कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परे । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय बलात्कार आरोपमा समातिए । पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । तर मल्ल पक्राउ नपरेको भन्दै ती महिला माइतीघरमा अनसन बस्दै आएकी थिइन् ।

१७ चैतमा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परे । बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको हो । २३ र २४ भदौको जेन-जी आन्दोलनबारे प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र महानिरीक्षक राजु अर्याल, तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजालविरुद्ध मुलुकी अपराध संहिताको दफा १८२ अनुसार फौजदारी कसुरमा कारबाही सिफारिस गरिएको थियो ।

दफा १८२ मा ‘हेलचक्य्राइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीका हकमा वेग्लै अध्ययन समिति गठन गरेर त्यसको सिफारिसअनुसार गर्ने निर्णय गरेको थियो ।

१९ चैतमा मात्रै व्यवसायी दीपक भट्ट पक्राउ परे । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा उनी तानिएका हुन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानअघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

यससँगै यातायात कार्यालयका विचौलियाहरु पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि कानुन प्रक्रिया अगाडि बढाइएको छ । एमाले अध्यक्ष ओली पक्राउलाई प्रतिशोध भन्दै उक्त पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । पक्राउको दिनदेखि थालेको आन्दोलनका क्रममा काठमाडौं लगायत जिल्लामा केही ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्की भएको छ । केही एमाले कार्यकर्ता घाइते भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!