काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरेको छ ।
बिहीबार बसेको बैठकमा एमाले सांसद गुरु बरालले संविधानविपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न गरेका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत ढंगबाट प्रयोग गरेर बन्दी बनाइएको छ,’ उनले भने, ‘यो गम्भीर आपत्तिको विषय छ । आजै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दछौं ।’
उनले ओली र लेखक पक्राउको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको र त्यसमा सरकारले निर्मम दमन गरिरहेको आरोप पनि लगाए । भदौ २३ र २४ को आन्दोलनको घटनामा ओली र लेखक १४ चैतमा पक्राउ गरिएको थियो ।






