- एभरेष्ट टाईम्स संवाददाता
४ अप्रिल २०२६ – बेलायत । मगर संघ युकेको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित क्रिष्ट चर्चमा भव्यताका साथ सम्पन्न भएको छ। सभाको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन तथा नेपाल र बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो।
कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै दुई मिनेट मौनधारण गरिएको थियो भने सोही अवसरमा गत फेब्रुअरीमा आयोजित ‘मगर दिवस’ को समीक्षा समेत गरियो।
सभाको दोस्रो चरणमा महासचिवको संस्थागत प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विभिन्न शाखा समितिहरूका साथै मगर युथ र महिला विभागका प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए, जसलाई सभाले सर्वसम्मतिले पारित गरेको छ। छलफलका क्रममा हाउजिङ, नेपाली ओपन कन्सर्ट, लखन थापा स्मृति गल्फ प्रतियोगिता, च्यारिटी डिनर र संस्थाको विधानका विषयमा सहभागीहरूबीच व्यापक विमर्श भएको छ ।
संगठनलाई थप मजबुत बनाउन सभाले नरेश खपाङ्गी मगरलाई विधान संयोजक, डा. भीम पुन मगरलाई सचिव र जङ्ग पुन मगरलाई सदस्यमा मनोनीत गरेको छ। त्यसैगरी, ट्रस्टीहरूमा लेफ्टिनेन्ट कर्नेल देबिन्द्र आले मगर, डा. प्रेम आले मगर, नेत्र आले मगर र छविमाया पुन मगरलाई मनोनीत गरिएको छ।
कार्यक्रममा मगर संघ युकेले विशेष उपलब्धि हासिल गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ। विद्यावारिधि हासिल गर्नुभएकोमा पूर्वअध्यक्ष डा. दूत पुन मगर (चिम्खोले काइँला), रेडिङ शाखाको अध्यक्षमा पुन: निर्वाचित हुनुभएकोमा सोब रेगामी मगर र विन्चेस्टर इष्ट्ली तथा साउथहाम्टन शाखाको अध्यक्षमा निर्वाचित हुनुभएकोमा मेख राना मगरलगायत नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो ।
त्यस्तै, आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएका विधान समितिका संयोजक क्याप्टेन राम पुन मगर तथा सदस्यहरू देवी आले मगर र कमला राना मगरलाई र ट्रस्टीको रूपमा कार्यकाल पूरा गर्नुभएका क्याप्टेन दुर्गा राम्जाली मगर, क्याप्टेन तम धेगा मगर र जगत थापा मगरलाई पनि खादा र मायाको चिनो प्रदान गर्दै सम्मानजनक बिदाइ गरिएको छ।
लाल पुन मगरको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा उपाध्यक्ष गुमानसिंह थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव गोमान पुन मगरले गर्नुभएको थियो। सभामा संघका पूर्वअध्यक्षहरू, संरक्षकहरू, सल्लाहकारहरू र विभिन्न शाखाका अध्यक्षहरू लगायत ठुलो संख्यामा सदस्यहरूको उपस्थिति रहेको थियो।














