काठमाडौँ । नेपाल पत्रकार महासंघमा सल्लाहकार मनोनयनको विवाद टुंगिएको छ । महासंघको यही चैत २३ गते बसेको उपलब्ध केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष विपुल पोखरेल, अध्यक्षका प्रत्यासी रमेश विष्ट र पूर्वअध्यक्ष गोविन्द आचार्यलाई सल्लाहकारमा मनोनयन गरेपछि विवाद टुंगिएको हो।
महासंघका तत्कालीन अध्यक्ष पोखरेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका रमेश विष्टले पनि राजीनामा दिएको शुन्यतामा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेर महासंघको निर्वाचन सम्पन्न गरी पदभार हस्तान्तरण गरेकी तत्कालीन कार्यवाहक अध्यक्ष बाला अधिकारीलाई महासंघले ´विशेष सम्मान` गर्ने निर्णय गरेसंगै विवाद अन्त्य भएको हो।
सल्लाहकार विवाद टुंगिएपछि मंगलबार महासचिव रामप्रसाद दाहालले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन्। महासंघको बैठक चैत २८ र २९ गते मकवानपुरको हेटौँडामा बस्ने भएको छ।
यसअघि काठमाडौँको तीनकुनेमा बस्ने गरी बोलाइएको बैठकमा अध्यक्ष निर्मला शर्माले छापामार शैलीमा सल्लाहकार बोलाएको भन्दै विरोध भएको थियो भने बैठक समेत अवरुद्ध भएको थियो।






