गृहमन्त्रीको मर्यादाक्रम घटुवापछि तमु धीं यूकेका पूर्वअध्यक्षले भने – ‘बर्खास्त गर्ने प्रपञ्च त होइन ?’

SHARE:

लन्डन । नेपालका गृहमन्त्री सुदन गुरुङको मर्यादाक्रम घटुवा गरेकोमा तमु धीं यूकेका पूर्वअध्यक्ष हरि गुरुङले चासो व्यक्त गरेका छन् ।

गुरुङले बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै मर्यादाक्रम घटाउँदै लगेर बर्खास्त गर्न खोजिएको हो कि भन्ने आशंका व्यक्त गरेका हुन् । ‘मैले माननीय गृहमन्त्रीज्यूलाई कुनै पनि कदम चाल्दा होसियारी अपनाउनु है बाबु भनेको थिएँ । यसरी मर्यादाक्रम घटाउँदै लगेर आखिरमा बर्खास्त गर्ने प्रपञ्च त होइन ?,’ पूर्वअध्यक्ष गुरुङले लेखेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर गर्दै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सुरुमा तेस्रो नम्बरमा रहेका गृहमन्त्री गुरुङलाई पाँचौं झारेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा गरिएको मन्त्रीहरुको वरीयताक्रममा तेस्रो नम्बरमा रहेका गृहमन्त्रीको ठाउँमा परराष्ट्रमन्त्री शिशिर खनाललाई ल्याइएको छ । प्रधानमन्त्री शाहपछि अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत राखिएको छ ।

चौथौमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री विराजभक्त श्रेष्ठलाई ल्याइएको छ । पाँचौं वरीयतामा गृहमन्त्री गुरुङ र छैटौं नम्बरमा भौतक, पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, सातौं नम्बरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम रहेकी छन् ।

गत चैत १३ गते पद तथा गोपनियताको शपथ लिएका सुदन गुरुङले पदबहालीको दिनदेखि नै सुशासनको पक्षमा ‘बोल्ड डिसिजन’ गरेका थिए । उनले गृह मन्त्रालय सम्हालेपछि पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, व्यापारी, गुण्डा नाइकेलगायत दर्जनौं जना पक्राउ परिसकेका छन् ।

गुरुङले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन र तत्कालीन सरकारले उन्मुक्ति दिँदै आएका आरोपितहरुलाई पक्राउ गराएका छन् । गुरुङले शपथ लिएको भोलिपल्ट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुण्डुस्थित निवासबाट पक्राउ परे । सोही बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेका थिए । लेखकलाई पनि भक्तपुरकै कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई बिहीबार रिहा गरिएको छ ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सिफारिस भएबमोजिम ओली र लेखकलाई पक्राउ गरिएको बताइएको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो । चैत १३ शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

यस्तै चैत १५ राति एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परिन् । एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा प्रहरीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो । शर्मालाई मुद्दा चलाउन नपर्ने रायसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो । बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए । शर्मा पनि छुटिसकेकी छन् ।

नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई १५ चैतमै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुढानीलकण्ठबाट पक्राउ गर्‍यो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।

नेकपा एमालेका कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परे । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय बलात्कार आरोपमा समातिए । पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । तर मल्ल पक्राउ नपरेको भन्दै ती महिला माइतीघरमा अनसन बस्दै आएकी थिइन् ।

१७ चैतमा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परे । बानेश्वरस्थित निवासबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको हो । २३ र २४ भदौको जेन-जी आन्दोलनबारे प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

१९ चैतमा मात्रै व्यवसायी दीपक भट्ट पक्राउ परे । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा उनी तानिएका हुन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानअघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

यस्तै शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका थिए । शंकर भने छुटिसकेका छन् । यससँगै यातायात कार्यालयका विचौलियाहरु पनि पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि कानुन प्रक्रिया अगाडि बढाइएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!