फिदिममा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

SHARE:

पाँचथर । पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि शुक्रबार शिला स्थापना तथा निर्माण सुभारम्भ भएको छ ।

लिम्बूवान गेट तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद् पाँचथरले प्रवेशद्वार पुनर्निर्माण गर्न लागेको हो । २५ लाख रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गर्ने योजना बनाइ आजदेखि सुरुआत गरिएको परिषद्का अध्यक्ष लक्ष्मण लावतीले जानकारी दिए । शिला स्थापना तथा निर्माणकार्यको फिदिम नगरपालिका प्रमुख मित्रप्रसाद काफ्लेसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा सुरक्षा निकायका प्रमुखहरूले शिला पूजा गरी सुरुआत गर्नुभयो । पाँच मिटर उचाइ र १९ मिटर लम्बाइको उक्त प्रवेशद्वारमा यहाँका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाबारे जानकारी दिने प्रतीकहरूसमेत राखिने भएको छ ।

प्रवेशद्वार दाताहरूबाट सङ्कलन हुने रकमबाट निर्माण गर्न लागिएको हो । यसका लागि परिषद्ले सहयोग सङ्कलन गर्ने भएको छ । फिदिमको मध्यभागमा यसअघि लिम्बूवान गेट रहेकै स्थानमा प्रवेशद्वार निर्माण हुन लागेको हो । यसका लागि सडक क्षेत्राधिकारभन्दा बाहिरको जग्गा जग्गाधनीहरू रविन तुम्बापो, महेन्द्र आङ्देम्बे र गङ्गाकुमारी आङ्देम्बेले उपलब्ध गराएको अध्यक्ष लावतीले जानकारी दिए ।

पञ्चायती व्यवस्था लागू भएको २५औँ वर्षगाँठको अवसरमा २०४२ सालमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको स्वागतका लागि फिदिम बजारको प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गरिएको थियो । तत्कालीन जिल्ला पञ्चायतले निर्माण गरेको अस्थायी प्रवेशद्वारलाई पछि पक्की बनाई श्रीपेचको प्रतिमा राखिएको थियो । सो समय फिदिम बजारको सुरु विन्दुमा प्रवेशद्वार निर्माण गरिए पनि बजार विस्तारसँगै प्रवेशद्वार बीच बजारमा रहन गएको फिदिमका अग्रज गङ्गाराम भट्टराईले जानकारी दिए ।

दोस्रो जनआन्दोलनपछि लोकतन्त्र पक्षधरले प्रवेशद्वारबाट श्रीपेचको प्रतिमा निकालेर फालेका थिए । यसैबेला पूर्वी नेपालमा चलिरहेको लिम्बूवान स्वयत्तताको आन्दोलनका पक्षधरले आन्दोलनको केन्द्रका रूपमा रहेको पाँचथरमा उक्त प्रवेशद्वारमा रङरोगन गरी ‘लिम्बूवान गेट’ नामकरण गरेका थिए । उक्त प्रवेशद्वारमा लिम्बू समुदायको सांस्कृतिक प्रतीक सिलामसाक्मा, ढोल (च्याब्रङ), प्रस्तावित लिम्बूवान क्षेत्रको नक्सा राखिएको थियो ।

तर मेची राजमार्गको फिदिम बजार खण्ड विस्तारका क्रममा तीन वर्षअघि उक्त प्रवेशद्वार भत्काइएको थियो । विस्तारित सडकभन्दा बाहिरपट्टिको व्यक्तिहरूको जग्गा प्राप्तिमा ढिलाइ हुँदा पुनर्निर्माणको कार्यमा ढिलाइ भएको र अब आवश्यक पर्ने सहयोग स्थानीय तहले मिलाउने फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।

उक्त प्रवेशद्वार लिम्बूवान गेटका रूपमा प्रचार हुनुका साथै लिम्बूवान पक्षधरका लागि पहिचानको संवेदनशील विषयका रूपमा विकसित भएको अध्येता एवं पुनर्निर्माण समितिका अध्यक्ष लावतीको बुझाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!