बेलायत। चितवन परिवार युकेले नेपाली नयाँ वर्षको सुखद अवसरमा बेलायतको मिचेटस्थित तमु धिं भवनमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाएको छ। संस्थाका अध्यक्ष मित्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमको औपचारिक सुरुवात संस्थाका महासचिव निशा शर्मा तिवारीले गर्नुभएको थियो। उहाँले सुरक्षा सम्बन्धी जानकारी गराउँदै आसन ग्रहण, दिवंगत सदस्यहरूप्रति मौनधारण र कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको समुद्घाटन अध्यक्ष मित्र गुरुङ र संस्थापक अध्यक्ष डमर गुरुङले संयुक्तरूपमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो भने नयाँ वर्षको उपलक्षमा समाजमा अनुकरणीय कार्य गरेका महानुभावहरुलाई सम्मान गरिएको थियो।
सांस्कृतिक सचिव लक्ष्मण गुरुङ र सह-सांस्कृतिक सचिव तुल गुरुङको विशेष संयोजनमा तयार पारिएको सांस्कृतिक कार्यक्रमलाई पूर्ण गुरुङ र सकुन्तला घले गुरुङले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरूले ९ वटा विभिन्न विधाका नृत्यहरू प्रस्तुत गरी नेपाली कला र संस्कृति झल्काएका थिए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालबाट आउनुभएका चर्चित तथा लोकप्रिय कलाकारहरू निर्जला गुरुङ र रेश्मा तामाङ रहनुभएको थियो। उहाँहरूले आफ्ना चर्चित सांगीतिक प्रस्तुतिहरूमार्फत उपस्थित दर्शकहरूलाई बेजोड मनोरञ्जन प्रदान गर्दै नचाउनुभएको थियो।
बेलायतमा रहेका चितवनवासीहरूलाई एकै ठाउँमा समेटेर नयाँ वर्ष मनाउने र आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्तै हर्षोल्लासका साथ सम्पन्न भएको उपलक्षमा अध्यक्ष मित्र गुरुङले उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिनुभयो ।










