काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघ (आईएफआरसी) बीच आपसी सहकार्य तथा मानवीय सहयोग सुदृढ गर्ने उद्देश्यसहित समन्वय बैठक सम्पन्न भएको छ।
एनआरएनएको केन्द्रीय कार्यालय बालुवाटारमा सम्पन्न उक्त बैठकमा आईएफआरसी नेपालका प्रतिनिधि प्रमुख डेभिड फिशर तथा मानवीय कूटनीति तथा सम्पर्क प्रबन्धक कृष्ण कुमार केसीको सहभागिता रहेको थियो । एनआरएनएको तर्फबाट उपाध्यक्ष रोजिना प्रधान राई, महिला उपाध्यक्ष टीका गुरुङ, एनसीसी संस्थापक अध्यक्ष कृष्ण पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतको उपस्थिति रहेको थियो ।
बैठकमा विपद् व्यवस्थापन, आप्रवासी नेपालीहरूको हित संरक्षण, समुदाय सशक्तीकरण साथै अभियान तथा सचेतना लगायतका मानवीय सहायता कार्यक्रमहरूमा आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो।







