लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको त्रैमासिक बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
शनिबार २५ अप्रिलमा बसेको बैठकले संस्थाले आयोजना गरेको नेपाली नयाँ वर्ष २०८३ र अन्तर्राष्ट्रिय महिला दिवसको समीक्षालगायत विभिन्न महत्त्वपूर्ण निर्णय गरेको अध्यक्ष लीला सेलिङ माबोले एभरेष्ट टाईम्सलाई जानकारी दिएकी छन् । उनका अनुसार बैठकले आगामी ६ जुनमा हुने भिक्टोरिया डे को संयोजकमा उपाध्यक्ष डा. विशाल गुरुङ र अक्टोबरमा हुने रश्मोर १० के रनको संयोजक उपाध्यक्ष जित मेन्याङ्बोलाई तोकेको छ ।
बैठकमा गत मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस र अप्रिल १२ तारिखमा मनाइएको नेपाली नयाँ वर्षको समीक्षा, आय-व्यय विवरण प्रस्तुत गरिएको थियो । नारी दिवस कार्यक्रमको संयोजक उपाध्यक्ष अनिता राई र नयाँ वर्ष कार्यक्रमको संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङ थिए ।

कार्यक्रमको सकारात्मक पक्षमा आमन्त्रित अतिथिलगायत नेपाली र स्थानीय जनसमुदायको उपस्थितिले अत्यन्तै भव्य र समय तालिकामा सम्पन्न भएको र सुधार गर्नु पर्ने समयमै टेबलको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालिएको महासचिव ले.रि.सुनिल रानाले जानकारी दिएका छन् ।
बैठकमा संस्थाका कोषाद्यक्ष मिलन रोकाबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै विधान संशोधन र सीआईओको बारेमा ट्रष्टी क्या.रि. ग्यारी घले, प्रोजेक्ट म्यानेजर सुशीला मगर, सन्जय राईले प्रोजेक्ट टुगेदर र सोसल मिडिया वेबसाईट भोलिन्टियरिङको बारेमा साथै जीआरएनसीको गतिविधि तथा नेपाली समुदायलाई हरेक क्षेत्रमा सरसल्लाह र सहयोग गरेकोबारे सबैले पावर पोइन्टको माध्यमबाट प्रस्ट पारेका थिए ।
बैठकमा संस्थापक अध्यक्ष राज सुब्बा र उनकी श्रीमती सरिता पौडेललाई स्वागत साथै साहित्यकार तथा समाजसेवी एकेन्द्र गुरुङलाई सल्लाहकारमा स्वागत सम्मान गरिएको थियो । श्रेया गुरुङलाई नयाँ कार्यसमितिमा मनोनीत गरिएको छ ।
अध्यक्ष लिला सेलिङ माबोले आसन्न स्थानीय तहमा जीआरएनसीका चार जना काउन्सिलर उम्मेदवारहरुलाई सफलताको शुभकामना दिएकी थिइन् । साथै सबैलाई उम्मेदवारहरुलाई सक्दो सहयोग गरिदिन पनि उनले आग्रह गरिन् ।
यस्तै जीआरएनसीले प्रकाशित गर्ने चिनारी पत्रिका आगामी डिसेम्बरको महाधिवेशनमा प्रकाशित गर्ने निर्णय पारित गरिएको छ ।
अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबै, अन्तर्राष्ट्रिय महिला दिवस र नयाँ वर्ष सफल पार्न अहोरात्र खटिने संयोजक उत्तर गुरुङ, बिज्नेस सेक्रेटरी दिलरास गुरुङ, पदाधिकारी, कार्यसमिति, विभिन्न संघ संस्था, पत्रकारहरु, व्यवसायीहरु, प्रायोजकहरु, सांस्कृतिक टिम, कलाकार, अभिभावकहरु, खाना व्यवस्थालगायत सबैलाई धन्यवाद दिएकी थिइन् । उनले आगामी कार्यक्रमहरुमा पनि उपस्थित भई सफल पारिदिनेमा आफू विश्वस्त रहेको बताएकी थिइन् ।
अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा बसेको बैठकमा रामचन्द्र गुरुङ, क्या रि ग्यारी घले, ट्रष्टी टोप पल्ली, दिलरास गुरुङ, जित मेन्याङ्बो, विशाल गुरुङ, बिमल गुरुङ, अनिता राई, साबित्रा राई, गोमा राना, अनिल थापा, पूर्वअध्यक्षहरु, ट्रस्टीहरु, सल्लाहकारहरु,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।












