लन्डन । नेपाली दूतावास लन्डनले लन्डन म्याराथनमा भाग लिएका नेपाली धावकलाई बधाई ज्ञापन गरेको छ ।
आइतबार सम्पन्न म्याराथनमा सहभागी खेलाडीहरुलाई एक समारोहबीच दूतावासले बधाई दिएको हो ।
विश्वको सबैभन्दा प्रतिष्ठित र समावेशी खेलकुद इभेन्टमध्ये एक लन्डन म्याराथनमा यस वर्ष ५९ हजार बढी धावकले २६.२ माइल (४२.२ किमि) लामो दौड पूरा गरे । यसपटकको म्याराथनमा नेपालीहरुले समेत उत्साहजनक सहभागिता जनाए ।
नेपाल रन यूकेले आफ्नो संस्था आवद्ध विश्वका १२ देशका नेपाली र बेलायतमै रहेका सदस्यहरु गरी ५८ जनाले दौडिएको सो संस्थाका संस्थापक सन्तोष राईले जनाए । राईले संस्थागत र व्यक्तिगत रुपमा दौडिएका समेत गरि झण्डै एकसय २० जनाले सहभागिता जनाएको पनि बताए ।
अमेरिका, अष्ट्रेलिया, जर्मनी, सर्बिया, नेपाल, अष्ट्रिया, सिंगापुर, बेल्जियम, यूएई लगायत देशमा बस्ने नेपाली समेत लन्डन म्याराथनमा भाग लिन आएका थिए ।

२६ अप्रिल २०२६ को म्याराथनमा सबास्टिन सावेले नयाँ इतिहास रचेका छन् । उनले लन्डन म्याराथन दुई घण्टाभन्दा कम समयमा दौडेका छन् । केन्याका सावेले उत्कृष्ट प्रदर्शनको नमुना पेस गर्ने क्रममा १ घण्टा ५९ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेका हुन् । केजचा १ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दोस्रो भए । युगान्डाका ज्इकोब किपलोमो २ घण्टा २८ सेकेन्डमा तेस्रो भए ।
महिलातर्फ टिग्स्ट आसेफाले पनि नयाँ विश्व कीर्तिमान बनाएकी छन् । ओलम्पिक च्याम्पियन तथा वर्ल्ड च्याम्पियनसिपमा रजत पदक विजेता आसेफाले २ घण्टा १५ मिनेट ४१ सेकेन्डमा दौड पूरा गरिन् ।






