लन्डन । मर्दीखोला समाज यूकेको आयोजनामा आगामी २ मे २०२६ मा वार्षिक भेटघाट तथा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रम अल्डरसटस्थित एल्डरवुड लेजर सेन्टरमा हुने मर्दीखोला समाज यूकेले जनाएको छ । कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकार निर्जला गुरुङ र सोनी कुँवरले आकर्षक प्रस्तुति दिने कार्यक्रम रहेको छ । उनीहरूले नेपाली परम्परागत तथा आधुनिक गीत–संगीत प्रस्तुत गर्नेछन्, साथै समाजका सदस्यहरुबाट अन्य सांस्कृतिक कार्यक्रम पनि प्रस्तुति हुनेछ ।
सन् २००७ मा स्थापना भएको मर्दीखोला समाज यूकेले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रममार्फत मर्दीखोला भेगका समुदायबीच आपसी सद्भाव, एकता तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। आयोजकका अनुसार कार्यक्रम परिवारमैत्री हुने भएकाले सबैलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
कास्की जिल्लाको मर्दीखोला क्षेत्रबाट विभिन्न समयमा बेलायत आएर बसोबास गर्दै आएका नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक भगवान गुरुङ र दीपक गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
हाल समाजको नेतृत्व भगवान गुरुङले सम्हालिरहेका छन्। यसअघि क्या कृष्ण गुरुङ, हिरामान गुरुङ, धर्मराज गुरुङ र चन्द्रसिंह गुरुङले समाजको नेतृत्व गरिसकेका छन्।






