लन्डन । पाल्पा जिल्ला समाज यूके (पाल्पाली भञ्ज्याङ) यूकेको वार्षिक भेटघाट आगामी २७ जुनमा हुने भएको छ ।
२५ अप्रिलमा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा बसेको बैठकले फार्नबोरोस्थित सामुयल कोडी स्कुलमा २७ जुन २०२६ शनिबार मध्याह्न १२ देखि राति १० बजेसम्म वार्षिक भेटघाट कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रममा नेपालबाट आउने पाल्पाली राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति रहने छ ।
उनीहरूले दोहोरी तथा लोकगीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्।
विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै तयारीलाई तीव्रता दिइएको छ । समाज स्थापना भएदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यस वर्ष १६औँ संस्करणको रूपमा आयोजना हुन लागेको हो ।
कार्यक्रममा खानपानको व्यवस्था ऋखीराम राना संस्थापक रहेको अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टले गर्ने छ । कार्यक्रममा थप आकर्षणका लागि राफल ड्र, सम्मान कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
अतिथिका लागि बेलायतस्थित नेपाली राजदूतावासलाई आमन्त्रण गरिएको छ ।
कार्यक्रममा सहभागी हुनका लागि ६ देखि १२ वर्षका लागि १५ पाउन्ड र १३ वर्ष माथिका लागि २५ पाउन्डको टिकट दर निर्धारण गरिएको छ भने ५ वर्ष मुनिका बालबालिकाका लागि प्रवेश निःशुल्क रहनेछ ।
समाजका अध्यक्ष गोपाल थापा तथा महासचिव दल थापाले कार्यक्रम सफल बनाउन सम्पूर्ण पाल्पाली समुदायलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन् ।
त्यसैगरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खुम कँवरले कार्यक्रमलाई भव्य र सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।






