लन्डन । पूर्वकाउन्सिलर नेम थापा मगरले बेलायतमा डा. विशाल गुरुङलाई जिताउन अपिल गरेका छन् ।
मगर संघ यूकेका पूर्वअध्यक्ष तथा पूर्वगोर्खा थापाले गोर्खाली अभियानमा डा. गुरुङलाई अगाडि बढाउन एकदमै जररी रहेकोले सबैले सहयोग गरेर काउन्सिलर बनाउन आग्रह गरेका हुन् ।
‘गोर्खाली समुदाय वा नेपाली समुदायका लागि हाम्रो डा. विशाल गुरुङ रस्मूर बरो काउन्सिलका लागि वेलिङटन वार्डको उम्मेदवार उठ्नुभएकोमा उहाँलाई सपोर्ट गर्नका लागि मैले एउटा अभियान आह्वान गर्न चाहन्छु,’ भिडियो सन्देमार्फत थापाले भने, ‘उहाँ नेपाली समुदायका लागि एकदमै इन्पोर्टेन व्यक्ति बन्नु भएको छ । उहाँले स्थानीयका लागि दिएको योगदान एकदमै सराहनीय छ । गोर्खाली अभियानमा उहाँलाई अगाडि बढाउन एकदमै जररी छ । उहाँ पार्टीगत मात्रै नभई व्यक्तिगत रुपमा एकदमै सक्रिय हुनुहुन्छ । सबैले सहयोग गरेर उहाँलाई काउन्सिल बनाऔं ।’
कन्जर्भेटिभ पार्टीबाट डा. गुरुङ वेलेस्ली र वेलिङ्टन वार्डको काउन्सिलर उम्मेदवार छन् । बेलायतमा यही मे ७ मा स्थानीय निर्वाचन हुँदैछ । डा. गुरुङले चुनावी प्रचारप्रसार जारी राखेका छन् । उनीसँगै बेलायतमा आधा दर्जनभन्दा बढी नेपाली चुनावी मैदानमा छन् ।
२०४६ सालमा स्याङ्जामा जन्मिएका डा. गुरुङ बेलायतस्थित ग्रेटर रस्मुर नेपाली कम्युनिटीका उपाध्यक्ष र तमु धीं यूकेका महासचिवसमेत हुन् । उक्त संस्थामार्फत उनले नेपाली समुदायका विभिन्न समस्या समाधानका लागि सक्रिय रूपमा काम गर्दै आएका छन् ।
बेलायतको डोमिसिलियरी केयर कम्पनीका प्रबन्ध निर्देशक हुन् उनी । यो कम्पनीले घरमै पुगेर वृद्धहरूलाई दैनिक जीवनका काममा सहयोग गर्ने सेवा प्रदान गर्छ । अहिले डा. गुरुङको कम्पनीमार्फत करिब ६० भन्दा बढी वृद्धलाई सेवा दिइँदै आएको छ । उक्त कम्पनीमा ३३ नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारी कार्यरत छन् । उनीहरूले अल्जाइमर, डिमेन्सिया, पक्षघात वा दैनिक काम गर्न नसक्ने अवस्थाका वृद्धहरूलाई सहयोग गर्ने काम गर्छन् ।
भिडियोका लागि यो लिंकमा जानु होला
https://www.facebook.com/vish.gurung.75






