एटा संवाददाता
अल्डरसट । ब्रिटिस गोर्खा र नेप्लिज कम्युनिटी क्याट्रिकले पहिरोमा अभिभावक गुमाएका अनाथ बालिकाहरुलाई सहयोग गरेको छ । उक्त कुरा डिसेम्बर ८ का दिन सो संस्थाका अध्यक्ष राम मल्ल, अभियान संयोजक नन्दराज राई र अभियान संयोजक ज्ञानेन्द्र आलेले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
पहिरोमा परी आफ्नो बाबुआमा, भाइबहिनी साथै घरविहीन बनेका सल्यान बागचोर नगरपालिका–५ की १३ वर्षीया कमला विक, १० बर्षीया पुतला विक र आठ वर्षीया सुनिता बिकबारे समाचार सार्वजनिक भएपछि सो सहयोग
जुटाएको थियो ।
गत ५ सेप्टेम्बर २०१८ का दिन संस्थाको बैठकले उनीहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । सो संस्थाले ‘कमला, पुतला र सुनिता विक सहयोग अभियान’ मार्फत चन्दा सहयोग संकलनका लागि सबै सदस्य, गैरसदस्य र संघसंस्थाहरुलाई अनुरोध गरेको थियो । सोही अनुरुप गत ५ डिसेम्बरसम्म ३ हजार ४ सय ९८ पाउण्ड आर्थिक संकलन भएको संस्थाले जनाएको छ । उक्त संकलित रकम स्थानीय जनता बैंकमा बालिकाहरुको आफ्नै बाजेको अभिभाकत्वमा १०.५ प्रतिशत बार्षिक व्याज पाउने गरी जम्मा गरिएको जनाइएको छ ।
उक्त मूलधन सोही संस्थाका प्रतिनिधिहरुको रोहवरमा निज कमला, पुतला र सुनितालाई ५ बर्षपछि हस्तान्तरण गर्ने विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।






