एनआरएनए युकेले जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् अनुरोध

SHARE:

बेलायत -गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाली पहिचान, सम्पत्ति र वंशजको नागरिकताको निरन्तरतामाथि देखिन थालेको गम्भीर संकटविरुद्ध एकजुट हुन विशेष अभियान सुरु गरेको छ। उक्त संकटविरुद्ध एकजुट हुनको लागि एनआरएनए युकेले जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् अनुरोध गरेको छ। यो महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम आगामी २५ मे २०२६ (सोमबार, बैंक होलिडे) का दिन दिउँसो ठिक १:०० बजे एम्पायर हल, एल्डरसटमा सञ्चालन हुनेछ।

हामी संसारको जुनसुकै कुनामा रहे पनि नेपालसँगको हाम्रो भावनात्मक र कानुनी सम्बन्ध अटुट रहेको सन्दर्भमा, वर्तमान परिस्थितिमा हाम्रो अस्तित्व र अधिकारमाथि उठेका प्रश्नहरूले नयाँ बहस सिर्जना गरेको छ। विशेषगरी, हालै चर्चामा आएको गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०८३ को प्रस्तावित मस्यौदामा समेटिएका कतिपय प्रावधानहरूले विदेशमा रहेका नेपालीहरूलाई गम्भीर रूपमा चिन्तित तुल्याएको छ।

प्रस्तावित मस्यौदामा विदेशमा आर्जन गरेको सम्पत्तिमा ५० प्रतिशतसम्म कर लगाउन सकिने जस्ता विषयहरू मात्र नभई, हाम्रो पहिचान र आत्मसम्मानसँग जोडिएका
मौलिक अधिकारहरूमा समेत अंकुश लगाउन खोजिएको देखिएको छ। लामो समयदेखि माग गरिँदै आएको ‘वंशजको नागरिकताको निरन्तरता’ को मुद्दा अझै ओझेलमा परिरहेको र विभेदकारी कानुनी प्रावधानहरूले भविष्यमा हाम्रा सन्ततिहरूको नेपालसँगको सम्बन्ध नै विच्छेद हुन सक्ने खतरा बढेको छ। यस्तो संवेदनशील घडीमा समयमै सशक्त आवाज नउठाउने हो भने हाम्रो पहिचान र अस्तित्व धरापमा पर्न सक्ने भन्दै सरोकारवालाहरूले निर्णायक पहलका लागि आह्वान गरेका छन्।

नेपाल सरकारमाथि राजनीतिक दबाब सिर्जना गर्न र यी विभेदकारी बुँदाहरू हटाउनका लागि विश्वभर रहेका नेपालीहरूको एकता अहिलेको प्रमुख आवश्यकता बनेको छ। यसै सिलसिलामा, एनआरएनए यूकेको आयोजनामा बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको सहभागिता रहने गरी एक महत्वपूर्ण “जानकारी सभा तथा अन्तरक्रिया कार्यक्रम” आयोजना हुने भएको छ। यो कार्यक्रम केवल औपचारिक भेला मात्र नभएर हाम्रो साझा अधिकारका लागि उठ्ने एउटा बलियो सामूहिक आवाज हुनेछ। उक्त सभाबाट निकालिने निष्कर्ष र सुझावहरूलाई नेपाल सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने योजना रहेको छ।

हाम्रो पहिचान र अधिकार रक्षाको यो साझा अभियानमा ऐक्यबद्धता जनाउन सम्पूर्ण नेपाली समुदायलाई हार्दिक निमन्त्रणा गरिएको छ। आफ्नो अधिकार सुनिश्चित गर्न र सन्ततिका लागि नेपालसँगको ढोका खुल्ला राख्न यस कार्यक्रमले ठूलो अर्थ राख्ने विश्वास लिइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!