सञ्जय हाङ मगर
नवलपरासी, २३ बैशाख — राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केशवबहादुर थापा ‘सूर्यवंशी’ले बालेन्द्र शाह नेतृत्वको सरकारप्रति पार्टीले हतारमा प्रतिक्रिया नजनाई, एक सय एक दिनको कार्यसम्पादन मूल्याङ्कनपछि मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने स्पष्ट पारेका छन्।
पार्टीको ३६औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश समितिद्वारा नवलपरासीको बर्दघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारका नीति, कार्यक्रम तथा कार्यान्वयन अवस्थालाई पार्टीले नजिकबाट अनुगमन तथा मूल्याङ्कन गरिरहेको जानकारी दिए। उनले भने, “सरकारको समग्र कार्यक्षमता, जनअपेक्षा पूरा गर्ने स्तर तथा सुशासनको अवस्थालाई आधार मानेर मात्र धारणा सार्वजनिक गरिनेछ।”
अध्यक्ष सूर्यवंशीले विशेषगरी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानमा सरकार प्रभावकारी देखिन नसकेको टिप्पणी गर्दै न्यूनतम क्षतिमा अधिकतम उपलब्धि हासिल हुने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिए।
उनले भ्रष्टाचार नियन्त्रणमा सीमित नभई पूर्ण रूपमा निर्मूल गर्ने पार्टीको दीर्घकालीन नीति रहेको उल्लेख गर्दै वर्तमान संविधानमा सामान्य संशोधनले मात्र पुग्ने नभई संरचनागत पुनर्लेखन आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा उनले आगामी केन्द्रीय समिति बैठकहरू ग्रामीण क्षेत्र केन्द्रित घुम्ती शैलीमा सञ्चालन गरिने जानकारी पनि दिए, जसले पार्टीलाई जनस्तरसँग अझ नजिक बनाउने विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सचिव चित्रप्रसाद गुरुङले सहजीकरण गरेका थिए। कार्यक्रममा केन्द्रीय अध्यक्ष सूर्यवंशीसहित उपाध्यक्ष डा. हाजी हसन महमद, होमाया गुरुङ, महासचिव टोप अस्लामी, उपमहासचिव तथा संगठन विभाग प्रमुख डव गर्बुजा, संघीय परिषद् सदस्य तथा संगठन विभाग उपप्रमुख बलकिश्वर राना मगर लगायत केन्द्रीय तथा प्रदेश तहका नेताहरूको सहभागिता रहेको थियो।






