एटा संवाददाता
दार्जिलिङ । बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापामगरको सालिक स्मृति दिवस (९ अप्रिल १९४६) पारेर अप्रिल २०१९ मा दार्जिलिङमा अनावरण गरिने भएको छ ।
मगर संघ युके केन्ट शाखाका निवर्तमान अध्यक्ष विजय हितान मगरलाई मगर संघ भारतद्वारा २१ नोभेम्बरमा राखिएको स्वागत तथा सम्मानार्थ कार्यक्रममा मित्रसेन सालिक संयोजन समितिका सचिव अजय थापाले सो जानकारी दिएका हुन् । उनका अनुसार वेस्ट बङ्गाल सरकारले दार्जिलिङ चौरस्ता नजिकै जमिन उपलब्ध गराइसकेको र मास्टर मित्रसेनको पूर्णकदको सालिक पनि निर्माण भइसकेको छ । सालिक स्थापनास्थलमा जग बसाल्ने र अन्य प्रारम्भिक निर्माण कार्यहरु सम्पन्न भइसकेको तर सालिक स्थापना र व्यवस्थापनार्थ कोष सङ्कलन गरिरहेको सचिव थापाले जानकारी दिए ।
देश विदेशमा रहेका संगीत तथा साहित्यप्रेमी सबै व्यक्ति तथा संघसङ्गठनहरुलाई यस कार्यमा सक्दो सहयोग गरिदिन पनि सचिव थापाले आह्वान गरे । विजय हितानले मास्टर मित्रसेन सालिक स्थापनार्थ सोही कार्यक्रममा भारतीय रुपैयाँ २५,००० सहयोग प्रदान गरेका थिए । हितानले यसअघि सन् २०१३ मा ‘मास्टर मित्रसेन र उनका सिर्जना’ पुस्तक प्रकाशनार्थ एक लाख रुपैयाँ काठमान्डू अवस्थित मित्रसेन प्रतिष्ठानलाई प्रदान गरेका थिए ।
मास्टर मित्रसेनको साङ्गीतिक र साहित्यिक प्रतिभालाई संसारमा चिनाउने अभियन्ताहरुमध्ये हितान पनि एक हुन् । सोही सिलसिलामा हितान २०१६ मा मास्टर मित्रसेनको जन्मस्थल इन्डियाको भागसु धर्मशाला भ्रमणमा पनि पुगेका थिए । अब मास्टर मित्रसेनको जीवनीमा आधारित एक उपन्यास लेखनतिर आफू लागिरहेको साहित्यकार हितानले जानकारी गराए । सालिक निर्माण कार्यमा वेस्ट बङ्गाल, संगीत तथा साहित्यप्रेमी दार्जिलिङवासी समुदाय र संगठनहरु प्रत्यक्ष सहयोग रहेको छ भने मगर संघ भारतले परियोजनाको नेतृत्व गरिरहेको छ ।
संस्थाको सांस्कृतिक टोलीको अगुवाइमा मास्टर मित्रसेनका गीतहरुलाई पुनः संगीत तथा स्वर संयोजन गरेर ‘श्रदार्पण’ नामको गीतिएल्बम पनि निर्माण गरिएको छ ।
एल्बमलाई सालिक अनावरण कार्यक्रमका दिन भव्य लोकार्पण गरिने योजना रहेको छ ।
अन्तक्रियामा भारतभित्र रहेका मगर संगठनहरुको छाता सङ्गठन भारतीय राष्ट्रिय मगर समन्वय समितिका महासचिव विष्णु रानामगर र सिक्किम मगर संघका महासचिव विमल थापामगरलाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रमलाई भारत मगर संघका अध्यक्ष दिपक थापामगरले सभापतित्व गरेका थिए भने महासचिव अमित थापामगरले सञ्चालन गरेका थिए ।






