अल्डरसट, बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको च्यारिटी डिनर नाइट आइतवार १० मे २०२६ को दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, आसन ग्रहण र दीप प्रज्वलन गरिएको थियो। बेलायतका लागि नेपाली कार्यवाहक राजदूत एवं कार्यक्रमका प्रमुख अतिथि विपिन दुवाडी र नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा नेपाल र बेलायतको राष्ट्रिय गानका साथै नेफिनको गीत प्रस्तुत गरिएको थियो।
दोस्रो चरणमा विभिन्न जातीय संस्थाका अध्यक्षहरूबीच परिचय तथा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भयो। सोही क्रममा नेफिन युकेले समाजमा उत्कृष्ट नेतृत्व गर्ने व्यक्तित्वहरू, उच्च शैक्षिक योग्यता हासिल गर्ने व्यक्तित्वहरू, संस्थागत योगदान पुर्याउने सदस्यहरू, अनुकरणीय कार्य गर्ने व्यक्तिहरूका साथै पत्रकार र कलाकारहरूलाई सम्मान गरेको थियो।
तेस्रो चरणमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि विपिन दुवाडीले आवश्यक परेको खण्डमा दूतावासले घुम्ती सेवा प्रदान गर्न सक्ने बताए। साथै, उनले भूतपूर्व गोर्खाहरूको मागलाई बेलायत सरकारले छिट्टै सम्बोधन गर्ने विश्वास समेत दिलाए। कार्यक्रममा विशेष अतिथिहरु, संघीय परिषद् सदस्यहरू तथा विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव फ्रम दुराले गरेका थिए। कार्यक्रमलाई नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र नेपाली मूलवासी एकता (NIU) ले सह-आयोजना गरेका थिए।
कार्यक्रमको चौथो चरणमा नेपालबाट आएका चर्चित कलाकारहरू सरिस्मा राम्जाली, ललिता पुन, निरा थापा, अनुपमा मगर, मञ्जु विक, अस्मिता राना र सुश्री कुवरले विशेष सांगीतिक प्रस्तुति दिएर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए।
अन्त्यमा, अध्यक्ष राईले च्यारिटी डिनर नाइट सफल पार्न सहयोग गर्ने अतिथि गणहरु, ५६ संघीय परिषद् सदस्यमध्ये नेफिन युकेमा आबद्ध १५ जातीय संस्थाहरू, गोर्खा ब्रिगेडका अफिसरहरू, सञ्चारकर्मी, कलाकार र उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।







