लन्डन । बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ ।
बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित हस्तक्षेप तथा युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणमा संलग्न व्यक्ति र संस्थाहरूलाई लक्षित गरेको छ ।
नयाँ प्रतिबन्धअन्तर्गत ८५ व्यक्ति तथा संस्थामाथि कारबाही गरिएको बेलायतले जनाएको छ । तीमध्ये करिब दुई तिहाइ व्यक्ति र संस्था रुसको कथित प्रचार तथा प्रभाव विस्तार अभियानसँग जोडिएका बताइएको छ । बेलायतका अनुसार ती गतिविधिमा विदेशी लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयाससमेत समावेश छन् । लन्डनले हालै आर्मेनियाको आगामी चुनावलाई प्रभाव पार्ने उद्देश्यले रुस समर्थित अभियान सञ्चालन गरिएको आरोप लगाएको छ ।
प्रतिबन्ध सूचीमा ‘सोसल डिजाइन एजेन्सी’ (एसडीए) सँग सम्बन्धित ४९ जना व्यक्तिलाई पनि समावेश गरिएको छ । बेलायत सरकारका अनुसार उनीहरू लेखक, अनुवादक तथा भिडियो निर्माता हुन्, जसले ‘भ्रामक क्रेमलिन प्रचार सामग्री’ तयार पार्ने कार्य गरेका थिए ।
बेलायतले यसअघि पनि सन् २०२४ को अक्टोबरमा राज्य–समर्थित एसडीए र त्यसका वरिष्ठ कर्मचारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला अन्य दुई समान संस्थालाई समेत लक्षित गरिएको थियो ।
बेलायतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा एसडीएलाई क्रेमलिनले लोकतान्त्रिक संरचना कमजोर बनाउने तथा युक्रेनप्रतिको अन्तर्राष्ट्रिय समर्थन कमजोर पार्ने उद्देश्यले हस्तक्षेपकारी अभियान सञ्चालन गर्न निर्देशन र आर्थिक सहयोग दिएको दाबी गरिएको छ ।
वक्तव्यमा ती गतिविधि ‘रुसी राष्ट्रपति प्रशासनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको लगभग निश्चित’ भएको उल्लेख गरिएको छ । साथै आर्मेनियामा रुस समर्थक सङ्गठन स्थापना गर्ने र राजनीतिक शक्ति सन्तुलनलाई मस्को समर्थक धारतर्फ मोड्ने प्रयास भएको आरोपसमेत लगाइएको छ ।
सोमबार घोषणा गरिएको प्रतिबन्ध प्याकेजको करिब एक तिहाइ हिस्सा युक्रेनी बालबालिकासँग सम्बन्धित मुद्दामा केन्द्रित रहेको छ । बेलायतले यसलाई ‘युक्रेनी बालबालिकाको जबरजस्ती निर्वासन र सैन्यीकरण गर्ने रुसको व्यवस्थित अभियान’ भनेको छ ।
प्रतिबन्ध सूचीमा ‘वारियर सेन्टर’ नामले चिनिने ‘सेन्टर फर मिलिटरी स्पोट्र्स ट्रेनिङ एन्ड प्याट्रियोटिक एजुकेशन अफ युथ’ पनि परेको छ । बेलायतका अनुसार उक्त संस्थामा लगिएका युक्रेनी बालबालिकालाई सैन्य प्रशिक्षण दिइनुका साथै क्रेमलिन समर्थित विचारधाराअनुसार प्रशिक्षण गराइन्छ ।
यसैगरी मस्को समर्थित स्वघोषित ‘लुहान्स्क पिपुल्स रिपब्लिक’ की युवा नीतिमन्त्री युलिया सर्गेभना भेलिच्कोलाई पनि प्रतिबन्ध लगाइएको छ । बेलायतले युक्रेनी बालबालिकासम्बन्धी राज्य–समर्थित कार्यक्रम कार्यान्वयनमा उहाँको ‘गम्भीर भूमिका’ रहेको आरोप लगाएको छ ।
बेलायतले युक्रेनबाट जबरजस्ती लगिएका बालबालिकाको पहिचान र खोजी कार्यमा सहयोग गर्न थप १२ लाख पाउन्ड अर्थात् करिब १६ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने घोषणा पनि गरेको छ । यो रकम प्रमाणीकरण केन्द्र र ट्रेसिङ संयन्त्रमार्फत परिचालन गरिने जनाइएको छ ।
रुसले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेपछि मस्कोमाथि हजारौँ युक्रेनी बालबालिकालाई जबरजस्ती रुसतर्फ सारिएको आरोप लाग्दै आएको छ । पश्चिमी मुलुकहरू र विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले यस विषयलाई गम्भीर मानवअधिकार उल्लङ्घनका रूपमा उठाउँदै आएका छन् ।
हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले सन् २०२३ मा युक्रेनी बालबालिकाको कथित अपहरण र जबरजस्ती स्थानान्तरणसम्बन्धी आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।
बेलायतकी गृहमन्त्री यभेट कुपरले सोमबारको वक्तव्यमा जबरजस्ती लगिएका बालबालिकाको पहिचान र खोजीका लागि बेलायतले आफ्ना सहयोगी मुलुकहरूसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ‘बलपूर्वक लगिएका बालबालिकालाई फेला पार्ने र सुरक्षित रूपमा पुनःस्थापित गर्ने हरेक प्रयासमा बेलायत साथमा रहने’ बताउनुभयो ।






