लन्डन । यक्सो समाज यूकेको भेला भव्य रुपमा सम्पन्न भएको छ ।
१० मे २०२६ का दिन मिचेट, क्याम्वरलीस्थित तमु धीं भवनको हलमा एक भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको हो । यक्सो सोसाईटी यूकेका अध्यक्ष कबित बहादुर यक्सोको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दिपेन्द्र यक्सो, सुस्मिता यक्सो र रोशनी यक्सोले गरेका थिए ।
औपचारिक कार्यक्रम बुद्धसिं यक्सोको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने बेलायत आएपछि ज्यान गुमाएका पाँच सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा उपस्थित सबै सदस्यहरूबीच परिचयात्मक कार्यक्रम भएको थियो, जुन परिवारका सदस्यहरूका लागि निकै रोचक र उत्साहजनक रह्यो ।
काजीमान यक्सो र डा. किशन यक्सोले यक्सो वंशको छोटो इतिहास र वंशावली प्रस्तुत गरेका थिए । उनीहरू साथै दिपेन्द्र यक्सोद्वारा यक्सो नाम लेख्ने विभिन्न चलनहरूको बारेमा प्रस्ट पार्नुका साथै आगामी पुस्ताका लागि साझा थरको रूपमा ‘यक्सो लिम्बु’ कायम राख्नुपर्ने महत्त्वमा विशेष जोड दिए ।
कार्यक्रमका अवसरमा बेलायती सेनामा क्याप्टेन पदमा पदोन्नति भएका तीन सदस्यहरू भोलामान यक्सो, इन्द्रकमल यक्सो र याक्थुङ आङबुहाङ (ज्वाइँ) लाई सम्मान गरिएको थियो । साथै, स्नातकोत्तर तहमा सफलता हासिल गर्ने नौ जना सदस्यहरू लोकेन्द्र यक्सो, डा. किशन यक्सो, सायन यक्सो, बबिन यक्सो, करुणा यक्सो, पूजा कान्दङ्वा, डा. अनु पेहिम, डा. आशिष पेहिम र सुनुमा हुक्पा चोङ्वाङलाई पनि सम्मान गरिएको थियो ।
अन्त्यमा, दुई अतिथि वक्ताहरू सेवानिवृत्त क्याप्टेन प्रेमबहादुर यक्सो र सन्त हुक्पा चोङ्वाङको (ज्वाइँ) मन्तव्यसँगै अध्यक्ष कबित बहादुर यक्सोले कार्यक्रम विधिवत् रूपमा समापन गरेका थिए ।
सन् २०११ मा संस्था स्थापना भएयताकै कार्यक्रममा योपटक सबैभन्दा ठूलो उपस्थिति रहेको आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य विवाहपश्चात् आफ्नो माइतीघरबाट टाढा भएका सम्पूर्ण यक्सोमा चेलीबेटीहरूलाई पुनर्मिलन गराउनु र बढ्दो परिवारमा नयाँ आएका सदस्यहरूलाई परिचय गराई स्वागत गर्नु रहेको दिपेन्द्र यक्सोले जानकारी गराए ।







