चिम्खोले काईला, बेलायत
परिचय
प्रकृतिले कुनै पनि भूगोललाई अनुपम उपहारहरू दिएको हुन्छ। म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका वडा नं. ७, चिमखोला गाउँको काखमा अवस्थित ‘लम्फु ढुंगा’ पनि त्यस्तै एक प्राकृतिक चमत्कार हो। बगर खोलाको किनारमा गर्वका साथ उभिएको यो विशाल शिला केवल एउटा चट्टान मात्र नभएर हाम्रो भूमिको ऐतिहासिक चिनारी र मगर सभ्यताको एउटा साक्षी पनि हो। अन्दाजी २५ मिटर उचाइ र ४० मिटर गोलाई भएको यो ढुंगाको बनावट प्रकृतिले कुँदेको एउटा ठूलो अण्डा आकारको कलाकृति जस्तो देखिन्छ।
ऐतिहासिक र भौगोलिक पृष्ठभूमि
लम्फु ढुंगाको आफ्नै रोचक भौगोलिक कथा छ। हाम्रा अग्रजहरू, विशेष गरी मेरो घरका बजै पस्तिमा मगरले सुनाए अनुसार, कुनै समय बगर खोला यो ढुंगाको शिर माथिबाट बग्ने गर्दथ्यो। समयको अन्तरालसँगै खोलाले आफ्नो बाटो परिवर्तन गर्दै लग्यो र यो ढुंगाको दायाँ-बायाँबाट बग्न थाल्यो। उहिलेको समयमा यो ढुंगा ‘मुली साङ्गो’ (काठको पुल) र मुख्य गोरेटो बाटोको नजिकै अवस्थित थियो। आज पनि वर्षायाममा खोलाको बहाव बढ्दा यो ढुंगा नदीको बीचमा एउटा अडिग संरक्षक झैं ठिङ्ग उभिएको देखिन्छ।
नामाकरण र भाषिक गरिमा
‘लम्फु’ शब्दको अर्थलाई लिएर नेपाली प्रचलित बोलीचाली र स्थानीय मगर भाषाबीच ठूलो भिन्नता पाइन्छ। नेपाली समाजमा ‘लम्फु’ शब्दलाई प्रायः ‘मूर्ख’ वा ‘अल्छी’ व्यक्तिको व्यङ्ग्यका रूपमा प्रयोग गरिन्छ। तर, चिमखोलाको यो ढुंगाको सन्दर्भमा यसको अर्थ पूर्णतः भिन्न र पवित्र छ। मगर (खाम र ढुट) भाषामा ‘लम्फु’ को अर्थ ‘बाटो’ (Way/Path) हुन्छ।
चिमखोलाका खेतबारी, वनजंगल र खोलानालाका नामहरू मगर भाषामा रहेकाले यो ढुंगाको नाम पनि मगर भाषाबाटै आएको हो। बाटोको छेउमा र पुलको नजिकै अवस्थित भएकाले हाम्रा पुर्खाहरूले यसलाई ‘बाटोको ढुंगा’ अर्थात् ‘लम्फु ढुंगा’ भनेका हुन्। तसर्थ, यो ढुंगा ‘मूर्ख’ होइन, बरु युगौंदेखि यात्रीहरूलाई बाटो देखाउने एक ‘मार्गदर्शक’ प्रतीक हो।
संरक्षणको आवश्यकता र चुनौती
हाल बगर खोलाले निरन्तर यसको जराको भाग खार्दै लगेको छ। नदीको कटान र बढ्दो मानवीय अतिक्रमणका कारण यो प्राकृतिक सम्पदाको अस्तित्व संकटमा पर्न थालेको छ। यसको ऐतिहासिक र सांस्कृतिक गौरव जोगाउन ‘लम्फु ढुंगा बचाउ अभियान’ आजको आवश्यकता बनेको छ। यदि हामीले यसको मर्मत सम्भार र संरक्षणमा ध्यान दिएनौं भने भावी पुस्ताले हाम्रो यो अनुपम पहिचान गुमाउने निश्चित छ।
भावी योजना र पर्यटकीय सम्भावना
लम्फु ढुंगालाई एक व्यवस्थित पर्यटकीय एवं सांस्कृतिक केन्द्रको रूपमा विकास गर्न निम्न कार्यहरू गर्नु अपरिहार्य देखिन्छ:
१. तटबन्ध र नदी नियन्त्रण: खोलालाई उचित ढङ्गले नियन्त्रण गरी दुवैतिर व्यवस्थित रूपमा बग्न दिने र नदी कटान रोक्न बलियो तटबन्ध निर्माण गर्ने।
२. धार्मिक र सांस्कृतिक कलाकृति: ढुंगाको चारै दिशामा हाम्रो आस्थाका प्रतीकहरू जस्तै: मण्डली बजै, सिद्ध बराह, भूमेबाजे र कुल देवताका आकृतिहरू खोपेर यसलाई धार्मिक आकर्षणको केन्द्र बनाउने।
३. धार्मिक संरचनाहरू: ढुंगाको शिरमा मन्दिर, गुम्बा, बिहार र छर्तुङ् निर्माण गरी धार्मिक सहिष्णुताको नमूना पेश गर्ने।
४. पूर्वाधार विकास: सुरक्षित रेलिङ्गसहितको बाटो, खोलामा पौडी खेल्ने जलाधार, बगैँचा र पैदल मार्ग (Track) निर्माण गरी यस क्षेत्रलाई आकर्षक बनाउने।
५. अतिक्रमण निषेध: यस क्षेत्रलाई स्थानीय व्यक्तिको निजी उपभोगबाट मुक्त गराई सार्वजनिक र सुन्दर पर्यटकीय स्थलको रूपमा कायम राख्ने।
निष्कर्ष
लम्फु ढुंगा केवल ढुंगा मात्र नभएर हाम्रो मगर सभ्यता, भाषा र चिमखोलाको भूगोलको जिउँदो इतिहास हो। यसको संरक्षण गर्नु भनेको हाम्रो भाषिक र भौगोलिक पहिचानलाई जोगाउनु हो। यो अभियानले स्थानीय स्तरमा जनचेतना जगाउन र पर्यटन प्रवर्द्धन मार्फत स्थानीय अर्थतन्त्रमा टेवा पुर्याउन ठूलो मद्दत गर्नेछ। आफ्नो माटो र संस्कृतिको यो अमूल्य निधिलाई बचाउनु हामी सबै चिमखोलेहरूको साझा दायित्व हो।
लम्फु ढुंगा जस्ता स्थानीय र प्राकृतिक सम्पदाहरू कुनै व्यक्ति वा समूहको निजी स्वार्थका लागि प्रयोग हुदैन। यस्ता ऐतिहासिक वा प्राकृतिक महत्वका स्थलहरूलाई समुदाय र राष्ट्रको साझा सम्पत्तिको रूपमा सुरक्षित राख्न पर्दछ। स्थानीय सरकारले यसलाई ‘सार्वजनिक सम्पत्ति’ वा ‘प्राकृतिक सम्पदा’ को रूपमा अभिलेखिकरण गरेमा कसैले पनि व्यक्तिगत रूपमा दर्ता गर्न र बिक्रि गर्न पाउँदैन। यो स्थल ऐतिहासिक वा पुरातात्विक महत्वको हो भनेर पुरातत्व विभागमा सम्पर्क गरी यसको संरक्षणको माग गरेमा बजेट निकासा हुन् सक्छ। यो ढुंगा रहेको क्षेत्रको जग्गाको वर्तमान स्थिति (सार्वजनिक वा ऐलानी) बुझेर नापी गरि मालपोतमा दर्ता गरेर सुरक्षित राख्ने कानुनी प्रक्रिया सुरु गरे राम्रो होला ।







