London, SK -बेलायतस्थित नेपाली तथा बौद्ध समुदायबीच आध्यात्मिक जागरण, शान्ति र समृद्धिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित आगामी ७ जुन २०२६ आइतबार बेलायतको एल्डरशटमा विशेष “२१ जम्भला (कुबेर) अभिषेक तथा धर्मदेशना कार्यक्रम” आयोजना हुने भएको छ। Buddhist Gumba Reading UK, Sheddrup Dodjo Gatsal र Pema Kara Gatsal को आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम Empire Hall मा बिहान ११:३० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विश्वप्रसिद्ध बौद्ध गुरु तथा आध्यात्मिक व्यक्तित्व H.H. Kyabje Gyang Khang Rinpoche को विशेष उपस्थितिमा २१ जम्भला (कुबेर) अभिषेक, देवताको वाङ तथा धर्मदेशना प्रदान गरिनेछ। आयोजकका अनुसार कार्यक्रमले सहभागीहरूलाई आध्यात्मिक ऊर्जा, मानसिक शान्ति तथा जीवनमा सकारात्मक परिवर्तनको अनुभूति दिलाउने विश्वास गरिएको छ।
बौद्ध धर्ममा जम्भला अर्थात् कुबेरलाई धन, समृद्धि, सौभाग्य तथा करुणाका प्रतीकका रूपमा लिइन्छ। विशेषगरी २१ जम्भला साधना आर्थिक समृद्धि मात्र नभई मनको शुद्धता, पुण्य सञ्चय तथा आध्यात्मिक उन्नतिसँग जोडिएको मानिन्छ। यही कारणले कार्यक्रमप्रति बेलायतभर रहेका नेपाली बौद्ध समुदाय तथा विभिन्न देशका श्रद्धालुहरूमा विशेष उत्साह देखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अर्को विशेष आकर्षण दक्षिण भारतस्थित प्रसिद्ध Namdroling Monastery बाट हजारौँ भिक्षुहरूद्वारा लामो समयसम्म साधना गरिएको सह-कलश (याङ्बुम्) रहनेछ। उक्त पवित्र याङ्बुम् परम पुज्य रिन्पोछेद्वारा २१ जम्भला कुबेर साधना विधिअनुसार राब्ने गरी श्रद्धालुहरूका लागि वितरण गरिने जानकारी दिइएको छ। आयोजकका अनुसार यस्तो पवित्र सामग्रीले आध्यात्मिक संरक्षण, शुभफल तथा समृद्धिको आशीर्वाद प्रदान गर्ने धार्मिक विश्वास रहेको छ।
कार्यक्रममा रिन्पोछेको धर्मदेशना नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा अनुवाद गरिने व्यवस्था मिलाइएको छ, जसले विभिन्न समुदायका सहभागीहरूलाई धर्मदेशना बुझ्न सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रममा बेलायतका विभिन्न शहरहरूबाट मात्रै नभई युरोपका अन्य देशहरूबाट समेत श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरिएको छ।
कार्यक्रमको संयोजन खेन् रिन्पोछे शिर लामाले गर्नेछन् भने सम्पूर्ण व्यवस्थापन Buddhist Gumba Reading UK , Sheddrup Dodjo Gatsal र Pema Kara Gatsal ले संयुक्त रूपमा गर्ने जनाइएको छ।
आयोजक संस्थाले धर्म, संस्कृति तथा आध्यात्मिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी सद्भाव, शान्ति र सकारात्मक ऊर्जा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै, कार्यक्रममा सहभागी भई धर्मदेशना तथा अभिषेक ग्रहण गर्न सम्पूर्ण श्रद्धालु तथा सर्वसाधारणमा हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क २० पाउण्ड निर्धारण गरिएको छ। सहभागीहरूका लागि चिया, नास्ता तथा भोजनको विशेष व्यवस्था समेत रहने आयोजकले जनाएको छ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि 07701015790 तथा 07753136051 नम्बरमा सम्पर्क गर्न सकिनेछ।






