पोखरा । तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारका लागि ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिने तमु धिं नेपालका मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवारद्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाँको मेजर जयबहादुर – उदय चन्द्र – मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याजबाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, कोषाध्यक्ष गमबहादुर गुरुङले हस्तान्तरण गरेका थिए ।
कास्की, पर्वत, स्याङ्जा, लमजुङ जिल्लाका १६ जना बिरामीहरुलाई जनही २५ हजार रुपैयाँको दरले सहयोग हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले कोष स्थापनाको उद्देश्य, सहयोग हस्तान्तरण कार्यविधिको जानकारी गराउँदै प्राप्त सहयोगले बिरामीहरु शीघ्र पुर्ण स्वास्थ्य लाभ हुने विश्वास ब्यक्त गरे । कोषबाट प्रत्येक तीन वा चार महिनामा बिशेष अवसरमा सहयोग गरिँदै आएको उनले बताए ।
तमु धिं नेपालमा आयोजित कार्यक्रमको संचालन सचिव जुमकाजी गुरुङले गरेका थिए ।






