लन्डन, १७ मे २०२६ । तमु धीं युकेको आयोजनामा यही २४ मेमा हुन गइरहेको ‘गोर्खा कप २०२६’ को २४ औं संस्करणमा करिब ३ लाख ५० हजार पाउन्ड खर्च हुने अनुमान गरिएको छ। तमु धीं युकेले आइतबार मिचेटमा आयोजना गरेको पत्रकार सम्मेलनमा खेलकुद सचिव क्याप्टेन दिपक घलेले उक्त जानकारी दिएका हुन् ।
क्याप्टेन घलेका अनुसार गोर्खा कप सम्पन्न गर्न झन्डै १५ सय जनशक्ति (स्वयंसेवक) १० दिनसम्म परिचालित हुनेछन्। उक्त जनशक्तिको आधारभूत पारिश्रमिक, भोजन, यातायात, इन्धन र शौचालयको व्यवस्थापन गर्दा कम्तीमा २ लाख ३५ हजार ६ सय ५० पाउन्ड आर्थिक भार पर्ने अनुमान छ।
यसैगरी खेल मैदान शुल्क, पुरस्कार, रेफ्री शुल्क, सुरक्षा, टेन्ट, स्किप, पीए सिस्टम र भोजन लगायतका विभिन्न शीर्षकमा थप १ लाख पाउन्ड खर्च हुने अनुमान छ। यी दुवै शीर्षक जोड्दा कुल अनुमानित खर्च ३ लाख ३५ हजार ६ सय ५० पाउन्ड पुग्ने देखिन्छ।
आयोजकका अनुसार आम्दानीतर्फ सवारी साधन शुल्क (बसका लागि १५ पाउन्ड र कारका लागि ५ पाउन्ड) तथा दर्शक प्रवेश शुल्क ३ पाउन्ड तोकिएको छ। मेलामा रहने कुल १२६ वटा स्टलहरूमध्ये निश्चित स्टलहरूबाट व्यापारिक शुल्क लिइनेछ। खेलमा सहभागिताका लागि मुख्य र भेट्रान टिमका लागि प्रतिटिम ३५० पाउन्ड तथा महिला टिमका लागि ३०० पाउन्ड दर्ता शुल्क निर्धारण गरिएको छ। यस वर्षको गोर्खा कपमा मुख्य टिमतर्फ ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा करिब २० हजार दर्शकको उपस्थिति रहने र ४ हजार सवारी साधन भित्रिने अनुमान गरिएको छ। यद्यपि, कुल आम्दानीबाट खर्च कटाएर बचत हुने कुनै निश्चित सुनिश्चितता नरहेको क्याप्टेन घलेले स्पष्ट पारे ।
पुरस्कार मुख्य टिमतर्फ विजेतालाई ३ हजार ५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, रनर अपले २००० पाउण्ड, भेट्रान टिम वीनरले १८०० पाउण्ड एवं रनरअपलाई १२०० पाउण्ड साथै महिला टिम वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने उनले बताए । गत वर्ष जस्तै लिजेन्ड अफ द गोर्खा कप’ उपाधि पनि दिइने भएको छ ।
पत्रकार सम्मेलनको सुरुमा तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङले उपस्थित पत्रकारहरूलाई खादा लगाएर स्वागत गरेका थिए । तमु धीं युकेको औपचारिक कार्यक्रम संस्थाका महासचिव डा. विशाल गुरुङले र पत्रकार सम्मेलनको सहजीकरण मिडिया सचिव सविन्द्रकुमार गुरुङ (एसके) ले सञ्चालन गरेका थिए । पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूद्वारा उठाइएका जिज्ञासाको जवाफ क्याप्टेन दीपक घले, एसके गुरुङ र उपाध्यक्ष दिलमाया गुरुङले दिएका थिए ।
सोही दिन गोर्खा कप खेलकुद समितिका सदस्यहरू कुमार घले, हिरा गुरुङ र क्याप्टेन देव घलेले टिम ड्र (खेल तालिका सार्वजनिक) गर्नुका साथै समाजमा अनुकरणीय कार्य गर्ने तमु धीं युकेका सदस्यहरूलाई सम्मानसमेत गरेका थिए। यसैगरी, समाजसेवी यशोदा गुरुङले तमु धीं आमा समूहलाई ४० वटा मफलर हस्तान्तरण गरिन् ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको अन्त्यमा अध्यक्ष गुरुङले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।
पत्रकार सम्मेलनमा तमु धीं युके तथा आमा समूहका संस्थापक, पूर्व तथा निवर्तमान अध्यक्षहरू, संरक्षक, सल्लाहकार, पदाधिकारी, कार्यसमिति सदस्य एवं विभिन्न विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो। साथै, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विमला सेने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष बम थापा सूर्यवंशी मगर, बीएफबीएस गोर्खा रेडियो युकेका स्टेशन म्यानेजर योगराज राई, विभिन्न सञ्चार माध्यमका सम्पादक तथा संवाददाताहरू लगायत झन्डै दुइ दर्जन पत्रकारहरुको सहभागिता थियो।







