लन्डन । बेलायतमा रहेका नेपाली समुदायबीच सबैभन्दा ठूलो महोत्सवको रुपमा रहेको गोर्खा कपको साँझ ‘गोर्खा कप म्युजिकल नाइट २०२६’ हुने भएको छ ।
यही मे २४ तारिखका दिन हुने गोर्खा कपको साँझ चर्चित कलाकारहरुको साथमा सांगीतिक कार्यक्रम हुन लागेको लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा बेलायतका अध्यक्ष मनसुधन थापा मगरले जानकारी दिएका छन् ।
‘तमु धीं युकेद्वारा आयोजना गरिएको गोर्खा कप प्रतियोगितामा दिनभरि अवलोकन गरेर बेलुका फेरि दिनभरिको थकान मेट्नको लागि नेपालदेखि आउनुभएका होनहार कलाकारहरूको साथमा स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ,’ अध्यक्ष थापा मगरले भने, ‘साथै विविध खानाको परिकारसँगै रमाउनको लागि ठमेल दोहोरी तथा ढिँडो घरमा विशेष सांगीतिक साँझको व्यवस्था गरिएको हुनाले यहाँहरू सम्पूर्णलाई चुलै निम्तो पठाएका छौं ।’
कार्यक्रम अल्डरसटस्थित ठमेल दोहोरी तथा ढिडो घरमा बेलुका ७ बजेदेखि २:३० बजेसम्म हुनेछ । कार्यक्रममा सोनी कुँवर क्षत्री, सपना रोका, सविना बुढा मगर, ललिता पुन, रुपी सिन्जाली, निरा थापा मगर, बिना राई, मनसुधन थापा, सन्तोष पुन लगायतका कलाकारले प्रस्तुति दिने छन् ।
२४ औं संस्करणको गोर्खा कप अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा हुनेछ ।






