काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको “कर्णाली पर्यटन सम्मेलन २०२६” मा सहभागी हुन आएका ४८ सदस्यीय भारतीय प्रतिनिधिमण्डललाई नेपालगन्ज–जमुनाहा (रुपेडिया) नाकामा भव्य स्वागत गरिएको छ।
नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको तर्फबाट भारतीय प्रतिनिधिमण्डललाई नेपाली मौलिक संस्कृतिअनुसार खादा ओढाएर स्वागत गरिएको हो। स्वागत कार्यक्रममा नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध, आपसी मित्रता तथा पर्यटन सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
पर्यटन व्यवसायी, ट्राभल एजेन्ट, टुर अपरेटर, सञ्चारकर्मी तथा ट्राभल ब्लगरहरू सम्मिलित उक्त प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन भारतबाट नेपाल आएको हो। स्वागतपछि प्रतिनिधिमण्डललाई स्थलमार्ग हुँदै सुर्खेत लगिएको आयोजकहरूले जानकारी दिएका छन्।
तीन दिने “कर्णाली पर्यटन सम्मेलन २०२६” वीरेन्द्रनगरमा जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ। सम्मेलनले कर्णाली प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
सम्मेलन अवधिभर भारतीय प्रतिनिधिमण्डलले कर्णाली क्षेत्रका पर्यटकीय सम्भावना, प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्ने परिचयात्मक (FAM) भ्रमणमा सहभागिता जनाउनेछन्। साथै पर्यटन व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध विस्तार गर्न ‘बीटूबी’ (B2B) बैठक, सीमापार पर्यटन सहकार्य, दिगो पर्यटन विकास तथा लगानी प्रवर्द्धनसम्बन्धी विभिन्न छलफल कार्यक्रमहरू पनि आयोजना गरिने आयोजकहरूले बताएका छन्।

आयोजकहरूका अनुसार भारतीय प्रतिनिधिमण्डलको सहभागिताले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। सम्मेलनले पर्यटन विकास, लगानी विस्तार तथा साझा आर्थिक समृद्धिका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।






