बेलायत। बेलायत र नेपाल सरकारबीच हुन गइरहेको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (G2G) वार्ताको पूर्वसन्ध्यामा ब्रिटिस गोरखा वेल्फेयर सोसाइटी (BGWS) ले जुम (Zoom) मार्फत भर्चुअल बैठक सम्पन्न भएको छ। बिहीबार, ४ जुन २०२६ का दिन साँझ आयोजित उक्त बैठकमा संस्थाको आगामी कार्यतालिकाका साथै आगामी सोमबार, ८ जुन २०२६ मा हुने G2G वार्ताको तयारीका बारेमा व्यापक छलफल भएको छ।
बैठकको प्रारम्भमा संस्थाका जनसम्पर्क समितिका प्रमुख प्रकाश गुरुङले उपस्थित सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै औपचारिक रूपमा छलफललाई अगाडि बढाउनुभएको थियो। बैठकमा संस्थाका कोषाध्यक्ष WO2 टेक बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसैगरी, महासचिव छत्रबहादुर राईले आगामी आइतबार, ५ जुलाई २०२६ का दिन आयोजना हुन गइरहेको संस्थाको वार्षिक भेटघाटको तयारीका विषयमा विस्तृत जानकारी दिनुभएको थियो।
बैठकमा जनसम्पर्क (PR) शाखाका प्रमुख प्रकाश गुरुङले संस्थाको भवन, अन्य संघ-संस्थाहरूसँगको सम्बन्ध र संस्थाका विभिन्न गतिविधिहरूका बारेमा अवगत गराउनुभएको थियो। साथै, आगामी शनिबार, २७ जुन २०२६ मा मनाइने ‘आर्म्ड फोर्सेज डे’ (Armed Forces Day) का अवसरमा BGWS का सदस्यहरू ‘स्ट्यान्डर्ड ब्यारियर’ (एसबी) सहित मार्च पासमा सहभागी हुने र सोको आवश्यक तयारीका बारेमा पीआर प्रमुख प्रकाश गुरुङ तथा एसबी संयोजक ओम थापा काउचाले बैठकमा छलफल गर्नुभएको थियो।
बैठकमा संस्थाका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले आगामी सोमबार, ८ जुन २०२६ मा हुने G2G वार्ताको प्रगति, पूर्वतयारी, रणनीति र आगामी योजनाहरूका बारेमा सहभागीहरूलाई स्पष्ट पार्नुभएको थियो। यस पटकको उच्चस्तरीय वार्तामा बेलायतका रक्षा मन्त्री जोन हिली, भूतपूर्व सैनिक मामिला मन्त्री (भेट्रान मिनिस्टर) लुइस स्यान्डर-जोन्स, नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल (जुममार्फत), बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, सैनिक सहचारी महासेनानी अनुप शाहका साथै ग्रुप टेन (G10) का प्रतिनिधिहरूको सहभागिता रहने जानकारी मेजर देवानले दिनुभयो। बैठकमा G2G को विषयलाई लिएर उपस्थित सदस्यहरूबाट उठेका विभिन्न जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै अध्यक्ष देवानले सहजीकरण गर्नुभएको थियो।
बैठकको अन्त्यमा अध्यक्ष मेजर देवानले महासचिव छत्र बहादुर राई, कोषाध्यक्ष टेक बहादुर थापा, जनसम्पर्क समितिका प्रमुख प्रकाश गुरुङ लगायत उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो।






