काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले विश्व वातावरण दिवसको अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदाय, अभियन्ता, सामाजिक संघसंस्था तथा वातावरण संरक्षणमा समर्पित सबैमा शुभकामना व्यक्त गर्दै वातावरण संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ।
महासंघले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा प्रकृति, भूमि, जल, जंगल, जैविक विविधता तथा वातावरणसँग आदिवासी जनजातिहरूको सम्बन्ध केवल जीविकोपार्जनको आधार मात्र नभई सभ्यता, संस्कृति, भाषा, ज्ञान, परम्परा र पहिचानको अभिन्न हिस्सा रहेको उल्लेख गरेको छ।
सन्देशमा आदिवासी जनजाति समुदायहरूले पुस्तौंदेखि प्रकृतिसँग सहअस्तित्व, सन्तुलन र सम्मानको भावनासहित जीवनयापन गर्दै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाइएको छ। नेफिनले हाल विश्वले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधताको ह्रास तथा प्राकृतिक स्रोतहरूको असन्तुलित दोहनजस्ता गम्भीर चुनौती सामना गरिरहेको उल्लेख गर्दै आदिवासी जनजातिहरूका परम्परागत ज्ञान, सीप र अभ्यासहरू दिगो वातावरणीय व्यवस्थापनका लागि अझ बढी सान्दर्भिक र आवश्यक बनेको जनाएको छ।
प्रकृतिप्रति सम्मान, संरक्षण र उत्तरदायित्वको भावना आदिवासी जीवनदर्शनको मूल आधार रहेको उल्लेख गर्दै महासंघले वातावरण संरक्षण, जैविक विविधताको सम्बर्द्धन, जलवायु न्याय तथा प्राकृतिक स्रोतहरूको जिम्मेवार संरक्षण र व्यवस्थापनमा सबैको सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
साथै, आदिवासी जनजातिहरूको परम्परागत ज्ञान, अभ्यास र योगदानको सम्मान गर्दै वातावरणीय नीति तथा कार्यक्रमहरूमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
विश्व वातावरण दिवसको अवसरमा नेफिनले वातावरण संरक्षण, जैविक विविधताको सम्बर्द्धन तथा पृथ्वीको दीर्घकालीन सुरक्षाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएको छ।






