अल्डरसट, बेलायत | शनिबार, ६ जुन २०२६ – बेलायतको ‘मिनी नेपाल’ भनेर चिनिने शहर अल्डरसटमा ‘भिक्टोरिया डे’ विशेष हर्षोल्लासका साथ मनाएको छ। हरेक वर्ष भव्य रूपमा मनाइने यस ऐतिहासिक र सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको तर्फबाट मगर संघ युके युएचएसबी शाखाले सक्रिय र उत्साहजनक सहभागिता जनाएको छ।
यस पटकको कार्यक्रममा नेपालबाट आएका आमन्त्रित चर्चित लोक दोहोरी कलाकारहरू निरा थापा मगर र कुमारी चेपाङको समेत विशेष उपस्थिति रहेको थियो। नेपाली मौलिक पोशाक र कलासंस्कृतिसहित उपस्थित भएका कलाकारद्वयको सहभागिताले कार्यक्रममा थप रौनक थपेको थियो।
नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्न स्थानीय बेलायती समुदायमाझ आयोजना हुने यो वार्षिक उत्सव नेपालीहरूका लागि आफ्नो कला र पहिचान झल्काउने एउटा महत्त्वपूर्ण मञ्च बन्दै आएको छ।
मगर संघ युके युएचएसबी शाखाका उपाध्यक्ष गणेश बहादुर बुढाथोकीले यस प्रकारको अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु गौरवको कुरा हो भनेका छन् ।
“हरेक वर्ष आयोजना हुने भिक्टोरिया डे कार्यक्रममा सहभागी भई हाम्रो नेपाली तथा मगरहरूको मौलिक संस्कार, संस्कृति, पहिचान र अस्तित्वलाई स्थानीय समुदायमाझ प्रवर्द्धन गर्ने अवसर प्राप्त गर्दै आएका छौँ। यसले प्रवासमा रहे पनि आफ्नो माटो र संस्कृतिलाई जीवित राख्न ठूलो मद्दत पुर्याएको छ।”






