काठमाडौँ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नेपालमा स्थानीय आवश्यकता अनुरूपका दिगो जलवायु अनुकूलन समाधान विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले डब्लुएफपीसँगको सहकार्यले नवप्रवर्तकलाई सशक्त बनाउँदै कृषि प्रणाली र जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
डब्लुएफपिका नेपालस्थित देशीय निर्देशक रियाज लोधीले जलवायुजन्य विपद्का चुनौतीसँग जुध्न नवप्रवर्तनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
डब्लुएफपी नेपालका कार्यक्रम उपप्रमुख कृष्ण योगीले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली, स्वच्छ ऊर्जा प्रविधि, किसानका लागि ‘डिजिटल’ परामर्श सेवा, उपग्रहमा आधारित बीमा तथा जलवायु सूचना प्रणाली, साथै साना किसानका लागि बजार तथा मूल्य शृङ्खला नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाललाई जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’का रूपमा चित्रण गर्दै हिमाली क्षेत्रदेखि साना किसानसम्म स्थानीय ज्ञान र प्रविधिको संयोजनले रूपान्तरणकारी परिवर्तन सम्भव रहेको बताउनुभयो ।
एएफसिआइए कार्यक्रमले प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वितरण र उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई समेट्ने दृष्टिकोण अवलम्बन गरेको छ । यसले स्थानीय क्षमता अभिवृद्धि, साझेदारी प्रवद्र्धन तथा जलवायु उत्थानशील विकासका लक्ष्य हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।
जर्मनीस्थित डब्लुएफपी इनोभेसन एक्सेलेरेटरकी नवप्रवर्तन परामर्शदाता एसिया सुल्तानका अनुसार कार्यक्रमले प्रभावकारी र विस्तारयोग्य जलवायु अनुकूलन उपायहरूको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा जलवायुमैत्री समाधानलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने, लगानी आकर्षित गर्ने तथा परीक्षण परियोजनालाई व्यापक प्रभावमा रूपान्तरण गर्ने विषयमा छलफल भएको थियो ।
विश्व खाद्य कार्यक्रम विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता संस्था हो, जसले विपद्, द्वन्द्व तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई खाद्य सहायता उपलब्ध गराउँदै दिगो विकास र समृद्धिको मार्ग निर्माणमा सहयोग गर्दै आएको छ ।






