काठमाडौँ । प्रधानमन्त्री वालेन्द्रको बोली सच्याउन माग गर्दै प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले अवरोध गरेका छन् ।
विनियोजन विधेयक र त्यससँग आश्रित विभिन्न विधेयहरूमाथिको छलफल गर्ने नियमित कार्यसूची रहेको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलले उठेर विरोध जनाए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का सांसद क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओली र श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईलाई क्रमशः बोल्ने समय दिए ।
सोही क्रममा कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिददेखि जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गरे ।
सभामुख डोलप्रसाद अर्यालले भने सो घटनालाई सभामाथिको अपमानका रूपमा टिप्पणी गरे । विपक्षीले अवरोध जारी राखेपछि प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति नसच्याएको भन्दै विपक्षीहरुले सदनमा अवरोध जारी राखेका छन् ।






