पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी सम्हाल्न आएका कुमान सिंह गुरुङलाई आइतबार पोखरामा तमु धिं नेपाललगायत ६० तमु समाज एवम् संघ संस्थाहरुले भव्य स्वागत सम्मान गरेका छन् ।
पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङसहित धर्मपत्नी रिताअ थापा गुरुङलाई
तमु धिं नेपाल, बौद्ध अर्घौं सदन, हिमाली साँस्कृतिक परिवार, तमु कलाकार संघ गण्डकी प्रदेश, रेडियो गोर्खाली, गुरुङ फिल्म एशोसिएसन नेपाल जिफान, तमु साँस्कृतिक प्रतिष्ठान नेपाल, तमु धिं नेपालका भातृ संगठनहरु, जिल्ला, पालिका र क्षेत्रीय तमु समाजहरुले नौमती बाजागाजासहित सेतो टीका, माला, फूलको गुच्छा, फेटा, खादा, बुकी तथा मायाको चिनो, बधाईपत्रसहित स्वागत, सम्मान तथा सफल कार्यकालको शुभकामनाका साथै स्वागत सम्मान गरेका हुन् ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, संस्थापक अध्यक्ष कर्म तमुलगायत कास्कीका विभिन्न ६० वटा तमु समाजका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङले स्वागत मन्तव्यसहित कार्यक्रममा गुरुङ दम्पतीप्रति सम्मान व्यक्त गर्दै समुदायको तर्फबाट सफल कार्यसम्पादनको शुभेच्छा व्यक्त गरेका थिए ।

नेपाभर हालसम्म तेस्रो र कास्कीमा पहिलो तमु कुलाबाट सीडीओ गुरुङलाई समुदायगत गौरव, तमु जातिको शान साथै युवाहरुका निम्ति प्रोत्साहन अर्थात् नेपालमै प्रशासक बन्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व गुरुङलाई स्वागत सम्मान गरिएको तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले तमु धिं नेपाल तथा सम्पूर्ण समाज संघ संस्थाहरुलाई धन्यवाद दिँदै आफूलाई स्वागत सम्मानले थप जिम्मेवार बनाएको बताए । कास्की जिल्लाको शान्ति सुरक्षा, सुशासन, विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उनको भनाइ थियो। कानुनभन्दा माथि कोही पनि छैन, तल पनि कोही हुनु नपर्ने उनको भनाइ थियो।
निजामती सेवामा गुरुङ समुदायका युवाहरु प्रवेश गराउन समाज, संघ संस्था र अभिभावकहरुले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि समस्या वा सेवासम्बन्धी जिज्ञासा तथा गुनासो भए आफूलाई सिधै सम्पर्क गर्न आग्रह गरे ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु विद्यार्थी समिति नृत्य प्रस्तुति गरेको थियो भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ र संचालन महासचिव जुना गुरुङले गरेका थिए ।
















