काठमाडौं । मगर युथ एसोसिएसन यूकेले गायक तथा संगीतकार दिपक थापा मगरको स्वास्थ उपचारका लागि ६ लाख ३८ हजारभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ।
कलंकीस्थित खाडादेवी फुडल्यान्डमा शनिबार एक कार्यक्रमबीच नेपाल मगर संघका अध्यक्ष रक्षबहादुर रैकामगर लगायतले ३२१५ पाउन्ड अर्थात् ६ लाख ३८ हजार १७७ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । मगर संघ यूकेको युवा विभागले यसअघि पनि दिपक थापामगरको स्वास्थ उपचारको लागि ७०० पाउन्ड हस्तान्तरण गरेको थियो ।
उक्त सहयोग रकम बेलायतमा संकलन गरिएको मगर युथ एसोसिएसन यूकेका अध्यक्ष दिपक थापा माइथाने मगरले बताए ।
द प्रिज्म ब्याण्डका संस्थापक सदस्य दीपकको मिर्गौलाको बिरामी छन् । ४ दशकभन्दा बढी समयदेखि नेपाली गीत, संगीतमा योगदान पुर्याएका थापा रोनिक किड्नी डिजिजबाट पीडित छन् ।
थापा मगरका कयौं हिट गीतमध्ये ‘विदेश जाने मायालु तिमीलाई सम्झना छ बारम्बार मेरो …’ हो । थापा मगरको भारत र नेपालका विभिन्न अस्पतालमा उपचार हुँदै आएको छ ।










