लन्डन । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले डब्लुएमएसी ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।
सरिनाले महिला क्रिएटिभ फमअन्तर्गत १८ वर्षमाथि मिक्स बेल्टमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जानकारी दिए । युकेको वोर्चेस्टरमा भएको प्रतियोगिताको उक्त स्पर्धामा सरिनाले २२.९ अंक जोडिन् । उनको प्रतिद्वन्द्वी इङ्ल्यान्डकी अमेलिया पार्किनले २२.८ स्कोर गरिन् ।
दुई वर्षअघि अध्ययनको सिलसिलामा युके गएकी सरिनाले त्यहाँ अध्ययनसँगै खेललाई पनि निरन्तरता दिएकी हुन् । सरिनाले मास्टर्स अफ साइन्स इन डिजिटल मार्केटिङ पूरा गरिसकेकी छन् ।
सरिनाले यसअघि लन्डन म्याराथनसहित विभिन्न दौडमा पनि सहभागिता जनाएकी थिइन् ।






