कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्वका लागि शुक्रबार मतदान

SHARE:

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवार र मतदाताको संख्या धेरै भएकाले मतपत्र छपाइमा समय लागेको तथा साँझ मतदान सुरु गर्दा राति प्रतिनिधिलाई कठिन हुने भएकाले मतदान शुक्रबार बिहानबाट मात्रै सुरु गर्न लागिएको हो। मतदान बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

महाधिवेशनमा ७ हजार ३ सय १७ प्रतिनिधि रहेको भए पनि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदानका लागि आवश्यक तयारी पूरा भइसकेको जानकारी दिए। मतपत्रमा हस्ताक्षर गर्ने कार्यमा उनीसहित ३२ जना वरिष्ठ अधिवक्ता खटिएका छन्।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

प्रतिनिधिहरूको सहजताका लागि निर्वाचन समितिले विभिन्न स्थानमा मतदान केन्द्र तोकेको छ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल— गण्डकी प्रदेश
तराई–मधेस हल — मधेश प्रदेश
पहाड हल— लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन समितिले मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान नपाइने जनाएको छ।

उम्मेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ।

अब सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्यका लागि मतदान हुनेछ।

शुक्रबारको बसाइ र खानाको खर्च पार्टीले बेहोर्ने

महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिहरूको शुक्रबारको होटल बसाइ तथा खानाको खर्च पार्टीले नै बेहोर्ने आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले जानकारी दिए।
मतदानपछि मतगणना

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भएपछि आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिनेछ। मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!