लन्डन । तमु समाज यूकेले प्रौढ शिक्षा कार्यक्रममा सहभागी ज्येष्ठ आमा–बुबाहरूलाई समाजको लोगो अंकित पानी पिउने थर्मस वितरण गरेको छ ।
बार्हम पार्कस्थित नेपाली सामुदायिक भवनमा प्रत्येक बिहीबार सञ्चालन हुने प्रौढ शिक्षामा सहभागी आमाबुबाहरुलाई गत आइतबार, ५ जुलाई २०२६ मा आयोजित विशेष कार्यक्रममा समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङले संयुक्त रूपमा थर्मस वितरण गरेकी थिइन् । हाल बेलायतमा बढ्दो गर्मी मौसमलाई मध्यनजर गर्दै तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्यप्रति विशेष संवेदनशीलता अपनाई, बाहिर हिँडडुल गर्दा सहज रूपमा शुद्ध पानी साथमा बोकेर पर्याप्त पानी पिउने बानीको प्रोत्साहन गर्ने उद्देश्यले यो थर्मस वितरण गरिएको समाजकी अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले जानकारी दिइन् ।

कार्यक्रमको अन्त्यमा प्रौढ शिक्षाकी शिक्षिका अमृता गुरुङ थापा तथा सहभागी सम्पूर्ण ज्येष्ठ आमा–बुबाहरूले तमु समाज यूकेले आफूहरूप्रति देखाएको माया, सम्मान र आत्मीयताको प्रतीकस्वरूप प्रदान गरिएको यस मायाको चिनोका लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रम समापन गर्दै समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले कार्यक्रममा उपस्थित भई थर्मस ग्रहण गरेका सम्पूर्ण ज्येष्ठ आमा–बुबाहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उनीहरूको सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु तथा निरन्तर सक्रिय जीवनको हार्दिक शुभकामना व्यक्त गरिन् । थर्मस लोटरी फण्डबाट प्राप्त अनुदान रकमबाट खरिद गरेर दिइएको हो ।








