पोखरा, कास्की SK । कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कास्की जिल्लाको मादी गाउँपालिका–१२, लिपेयानीस्थित हिमालय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ।
‘कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता’ भन्ने मूल नारासहित सन् २०१९ जुलाई ५ मा स्थापना भएको संस्थाले शिक्षा, समाजसेवा तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ।
यसैक्रममा शुक्रबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा आर्थिक रूपमा विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट र टी–सर्ट), जुत्ता तथा मोजा वितरण गरिएको हो। संस्थाले उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउनका साथै उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रेरणा र उत्साह थप्ने विश्वास व्यक्त गरेको छ।
उक्त कार्यक्रम कास्की आदर्श समाज नेपालको सहजीकरण तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सन्तोष तिमिल्सिना, सचिव पूजा शाह ठकुरी, कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, वरिष्ठ उपाध्यक्ष पूजा गिरी, महासचिव हरि बहादुर ढकाल, कोषाध्यक्ष शिव गिरीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक हिमाल पौडेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी र उत्साहपूर्ण बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले शिक्षा क्षेत्रमा गरिने लगानी नै दीर्घकालीन सामाजिक विकासको आधार भएको उल्लेख गरे। उनीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह, आत्मविश्वास र भविष्यप्रतिको आशा अभिवृद्धि हुने विश्वास व्यक्त गरे।
विद्यालय परिवारले पनि प्रवासमा रहेर जन्मभूमिका विद्यार्थीहरूको शिक्षाप्रति देखाइएको चासो, सहयोग र सामाजिक उत्तरदायित्वप्रति कास्की आदर्श समाज बहराइनप्रति हार्दिक आभार व्यक्त गरेको थियो।
कार्यक्रमको सफलताका लागि प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगदाता, नेपालस्थित पदाधिकारी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, विद्यालय परिवार तथा शुभेच्छुकहरूप्रति समाजले कृतज्ञता व्यक्त गरेको छ।
समाजले आगामी दिनमा पनि शिक्षा, समाजसेवा तथा मानवीय सेवासम्बन्धी विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै हिमालय आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। साथै, यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदाय र मातृभूमिबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शिक्षा र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास समाजले व्यक्त गरेको छ।






