रमण महर्षिको जीवन र ‘म को हुँ ?’ भन्ने आत्म-विचार

SHARE:

रमण महर्षिको जन्म सन् १८९६ मा भएको थियो। उहाँलाई विद्यालय जान खासै इच्छा र रुचि थिएन। उहाँमा दुईवटा गहिरा चाहना थिए-इच्छा र आग्रहभन्दा माथि उठेर सत्यको खोज गर्नु र आफूलाई बुझ्नु।

हामी मानिसहरू पनि कहिलेकाहीँ आफ्नै विचार र इच्छाको जेलमा बाँधिएका हुन्छौँ। त्यसैले हामी दुःखी हुन्छौँ। तर त्यही कुरा हामी आफ्ना छोराछोरीमाथि पनि थोपर्ने गर्छौ- ‘यो गर, त्यो गर, यस्तो बन्नुपर्छ’ भनेर। हामीले उनीहरूलाई आफ्नो इच्छा पूरा गर्ने माध्यम बनाइरहेका हुन्छौँ।

रमण महर्षि भने विद्यालयको बाटो छोडेर अरुणाचलतिर लाग्नुभयो। उहाँले कठिन परिस्थितिमा पनि ध्यान र आत्मचिन्तन गर्नुभयो। वरिपरि लामखुट्टे, कीरा, मुसा आदिले दुःख दिँदा पनि उहाँ आफ्नो ध्यानमा रहनुभयो। उहाँको मूल शिक्षा यस्तो थियो- दुःख, पीडा र डरको ठूलो कारण हाम्रो मन हो। जबसम्म मनमा हजारौँ विचारहरू चलिरहेका हुन्छन्, तबसम्म हामी पूर्ण आनन्द अनुभव गर्न सक्दैनौँ। मन शान्त हुँदै जाँदा आनन्दको अनुभव गहिरो हुँदै जान्छ।
त्यसैले प्रश्न उठ्छ- ‘म को हुँ?’ (Who am I?)
रमण महर्षिको आत्म-विचारको मुख्य अवधारणा यही हो।

उहाँ भन्नुहुन्थ्यो, हाम्रो शरीर छ, तर शरीर मात्र ‘म’ होइन। हाम्रो चेतना छ, जसले शरीर र मनका गतिविधिलाई जान्दछ।
मनमा हजारौँ विचारहरू आउँछन्।
तर हामीले विचारहरूलाई हेरेर सोध्नुपर्छ:
‘यो विचार कसलाई आयो ?’
उत्तर आउँछ- ‘मलाई।’
त्यसपछि फेरि प्रश्न- ‘म को हुँ?’
यसरी प्रश्न गर्दै जाँदा मन आफ्नै मूल स्रोततर्फ फर्किन थाल्छ।
हामी प्रायः भन्छौँ-
‘म दुःखी छु।’
‘म रिसाएको छु।’
‘म डराएको छु।’
तर रमण महर्षिको दृष्टिकोणबाट हेर्दा प्रश्न गर्न सकिन्छ-दुःख कसलाई भएको हो? डर कसलाई लागेको हो? रिस कसलाई आएको हो?
मनले नै जगडा गर्छ, मनले नै रिस गर्छ, मनले नै डराउँछ। त्यसैले आफूलाई केवल मनसँग जोडेर हेर्नु आवश्यक छैन।
‘I am not the mind – म मन होइन।’

जब मानिसले आफूलाई केवल शरीर वा मन नभई आफ्नो वास्तविक चेतन स्वरूपका रूपमा बुझ्न थाल्छ, तब उसको दृष्टिकोण परिवर्तन हुन सक्छ।

रमण महर्षि स्वयंले धेरै कुरा पुस्तक पढेर वा कुनै बाहिरी गुरुबाट सिकेर मात्र प्राप्त गर्नुभएको होइन। उहाँको जीवनमा गहिरो आत्म-अनुभूति र आत्म-विचारबाट परिवर्तन आएको थियो । उहाँले मानिसलाई बाहिरभन्दा पहिले आफ्नै मनभित्र हेर्न सिकाउनुभयो।

प्रेम र स्वतन्त्रता
यसबाट अर्को महत्त्वपूर्ण कुरा पनि सिक्न सकिन्छ-प्रेम भनेको आफ्नो इच्छा अरूमाथि थोपर्नु मात्र होइन।
हामीले आफ्ना छोराछोरी वा अरूलाई ‘मैले चाहेको जस्तो बन’ भनेर दबाब दिनुभन्दा उनीहरूको स्वभाव, रुचि र क्षमतालाई बुझ्नुपर्छ।

विशेषगरी फरक प्रकारको विकास वा सोच भएका बालबालिकामा हामीले उनीहरूलाई बुझेर, स्वीकार गरेर र उनीहरूलाई आफूले चाहेको कुरा गर्न सुरक्षित रूपमा अवसर दिएमा उनीहरूको क्षमता अझ राम्रोसँग फुल्न सक्छ।
साँचो प्रेम भनेको नियन्त्रण मात्र होइन; बुझाइ, स्वीकार, स्वतन्त्रता र साथ दिनु पनि हो।

अन्ततः रमण महर्षिको आत्म-विचारले हामीलाई एउटा सरल तर गहिरो प्रश्नतर्फ लैजान्छ:
‘म को हुँ?’
यो प्रश्नको उत्तर अरू कसैले दिएर मात्र पुग्दैन।
यसलाई आफैँभित्र खोज्नुपर्छ । मनका विचारहरू शान्त हुँदै जाँदा, आफूलाई बुझ्ने यात्रा सुरु हुन्छ।

हरिकुमार (काजी) गुरुङको फेसबुकबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!