लन्डन । नेफिन युकेको ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी मेला भव्यरुपले सम्पन्न भएको छ । गत शनिबार ८ अगस्त २०२६ का दिन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले वकिङस्थित ग्याम्बललेनमा उक्त मेला आयोजना गरेको थियो । ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित मेला भव्यरुपले सम्पन्न भएको नेफिन यूकेका अध्यक्ष योगेश कोयू राईले जानकारी दिएका छन् ।
मेलाको मुख्य आकर्षण रहेको भलिबल प्रतियोगितामा यस वर्ष २६ टिमको सहभागिता रहेको थियो भने खेलको सहज सञ्चालनका लागि ६ वटा खेलमैदान तयार पारिएको थियो । प्रतियोगिताअन्तर्गत पुरुष मुख्य टिमको खेलमा स्याङ्जा समाज युके विजयी हुँदा ग्रिनविच भलिबल परिवार उपविजेता बनेको थियो । त्यस्तै, भेट्रानतर्फ ग्रिनविच भलिबल परिवार युके विजयी भयो भने मोना भलिबल क्लब युके उपविजेता बन्न सफल भयो । महिला भलिबलतर्फ मोना युके महिला भलिबल क्लबले विजय हात पार्दा विनचेस्टर भलिबल क्लब युके उपविजेता बन्यो ।
कार्यक्रममा विभिन्न जातजातिका १४ वटा झाँकी प्रस्तुत गरिएका थिए । झाँकितर्फ किरात राई यायोक्खा युके प्रथम, किरात याक्थुम्लुङ चुम्लुङ दोस्रो, मगर संघ युके तेस्रो र थारु समाज युके चौथो स्थान हासिल गर्न सफल भएका थिए ।
मेलामा विभिन्न जातजातिका खाद्य परिकार, हस्तकला र व्यापारिक प्रयोजनका स्टलसमेत राखिएका थिए।आदिवासी मेलामा नेपालबाट आमन्त्रित कलाकारहरू दीपा सुहाङ, राजेन्द्र केरुङ, अस्मिता राना, लक्ष्मण लिम्बुलगायतले विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।
नेफिन युकेद्वारा आयोजित ३२औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको उपलक्ष्यमा, नेफिन युकेका निवर्तमान अध्यक्ष कर्म पहाडी शेर्पा “वर्ष पुरुष २०२६” र निवर्तमान वरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबो “वर्ष महिला २०२६” ले सम्मानित हुनुभएको छ। त्यस्तै मेलामा आमन्त्रित प्रमुख अतिथि, अन्य पाहुनाहरु, बिभिन्न जातीय संघ संस्था कलाकार लगायत समाजमा उदारणीय कार्य गरेका व्यक्तित्वहरु सम्मानित भएका छन्।
नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको आदिवासी मेलामा बेलायतका लागि नेपाली राजदूत विपिन दुवाडीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रित गरिएको थियो । महिला महासंघका अध्यक्ष युमा लिम्बूले स्वागत मन्तव्य दिएको कार्यक्रमको सञ्चालन महासचिब प्रेम बहादुर दुराले गरेका थिए ।







