लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहेका नेपाली नयाँ पुस्तालाई देशसँग जोड्न एनआरएनएले गम्भीर रुपमा सोच्ने बेला आएको बताएका छन् ।
आयरल्याण्डको राजधानी डब्लिनमा सोमबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलन – २०२६ मा सम्बोधनका क्रममा कावा राजदूत दुवाडीले उक्त धारणा राखेका हुन् । ‘विदेशमा रहनुभएका नेपालीहरूले नेपालमा रहेका परिवार तथा सरकारलाई आर्थिक रूपमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ,’ उनले भने, ‘दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको तथा चौथो पुस्ता झन् टाढिँदै गएकोले नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले गम्भीर भएर सोच्नुपर्ने समय आएको छ ।’
सरकारले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा अघि सारेको उल्लेख गर्दै उनले विदेशमा आर्जन गरेको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको बताएका थिए ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले फाटेको मन जोड्दै संस्थामा एकता कायम गर्ने मुख्य काम आयरल्यान्डबाटै सुरु गर्नुभएको बताएका थिए । उनले आगामी दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्सलगायतका निकायसँग जोडिने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिएका थिए। साथै, ‘ग्लोबल नलेज कन्फरेन्स’लाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गरेका थिए ।






