आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन – २०२६ मा आयरल्याण्डको राजधानी डब्लिनमा आज सोमबारदेखि सुरु भएको छ । सम्मेलनको मुख्य भाव ‘संकल्प’ रहेको छ भने यसको सन्देश “पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता” रहेको छ ।
एनआरएनएको विस्तारसँगै युरोप क्षेत्रीय बैठक तथा सम्मेलनहरू युरोपस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकसित भएका छन्। यस वर्षको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न क्षेत्रबाट एनआरएनए आईसीसी तथा एनसीसीका पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्। हालसम्म ३५ देशबाट २०० भन्दा बढी सहभागीको सहभागिता सुनिश्चित भएको छ भने कुल सहभागिता करिब २५० जनासम्म पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य माननीय गणेश पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ । साथै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी, परराष्ट्र मन्त्रालयअन्तर्गत श्रम आप्रवासन तथा डायस्पोरा महाशाखाका उपसचिव कृष्णकुमार सुबेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंगा, एनआरएनए नेतृत्व तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा प्रमुख विषयगत सत्र रहनेछन्। सम्मेलनले गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, ज्ञान–सीप तथा प्रविधि हस्तान्तरण, राष्ट्रिय समन्वय परिषद एन सिसि हरुको सबलीकरण तथा अन्तरदेशीय विषयहरु र संस्थागत Rebranding NRNA लगायतका विषयमा गहन छलफल गर्नेछ।
यस वर्षको सम्मेलनले विशेष रूपमा गैरआवासीय नेपाली नागरिकता र अधिकार, नेपालमा लगानी, महिला, युवा र दोस्रो पुस्ताको सहभागितालाई प्राथमिकता दिएको छ। महिला केन्द्रित छलफलमा उद्यमशीलता, आर्थिक सशक्तीकरण, सुरक्षित आप्रवासन, स्वास्थ्य र कानुनी पहुँचलाई जोड दिइनेछ भने युवा तथा दोस्रो पुस्तासम्बन्धी सत्रले नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, पहिचान, भाषा–संस्कृति र नेपालसँगको दीर्घकालीन सम्बन्धलाई केन्द्रमा राख्नेछ।
सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभरका प्रवासी नेपालीको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीसम्बन्धी साझा मार्गचित्र निर्माण गर्ने लक्ष्यसमेत लिएको छ।
आयोजकले सम्मेलनलाई गैरआवासीय नेपालीका अधिकार र सरोकारहरू नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, युरोपस्थित नेपाली समुदायबीच सहकार्य सुदृढ गर्ने तथा नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक र ज्ञानमा आधारित साझेदारी विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
यसैबीच सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता माननीय गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का सबै मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने जिकिर गर्नुभएको छ । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथिसमेत रहनुभएका सांसद पराजुलीले एनआरएनएका मागहरूलाई राज्यका तर्फबाट तत्काल सम्बोधन गर्न नसकिएको विषय स्वीकार गर्दै क्रमशः सबै माग पुरा हुने बताउनुभएको हो । डब्लिनमा सुरु भएको दुईदिने क्षेत्रीय सम्मेलनको उद्घाटन प्रमुख अतिथि माननीय गणेश पराजुली, बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले संयुक्त रूपमा पानसमा बत्ती बालेर गर्नुभएको थियो।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का अध्यक्ष डा. हेमराज शर्माले वर्तमान कार्यसमितिले फाटेको मन जोड्दै संस्थामा एकता कायम गर्ने मुख्य काम आयरल्यान्डबाटै सुरु गर्नुभएको बताउनुभएको थियो। उहाँले आगामी दिनमा नयाँ पुस्ता, महिला, सरकार तथा नेपाल चेम्बर अफ कमर्सलगायतका निकायसँग जोडिने कार्यक्रमलाई तीव्रता दिइने जानकारी दिनुभएको थियो। साथै, ‘ग्लोबल नलेज कन्फरेन्स’लाई संस्थाले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको थियो।
यस्तै, बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा रहनुभएका नेपालीहरूले नेपालमा रहेका परिवार तथा सरकारलाई आर्थिक रूपमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको बताउनुभएको थियो। उहाँले दोस्रो र तेस्रो पुस्ता विस्तारै नेपालसँगको सम्बन्धबाट टाढिँदै गएको तथा चौथो पुस्ता झन् टाढिँदै गएको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने विषयमा एनआरएनएले गम्भीर भएर सोच्नुपर्ने समय आएको बताउनुभएको थियो।
सरकारले ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने अवधारणा अघि सारेको उल्लेख गर्दै उहाँले विदेशमा आर्जन गर्नुभएको ज्ञान, क्षमता, अनुभव र पुँजीलाई नेपालसँग जोड्न परराष्ट्र मन्त्रालय निरन्तर लागिपरेको बताउनुभएको थियो।
परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीले गैरआवासीय नेपाली र नेपालको सम्बन्ध केवल रेमिट्यान्समा मात्र सीमित हुन नहुने बताउँदै नेपालमा लगानी भित्र्याउन विश्वास पहिलो सर्त रहेको उल्लेख गर्नुभएको थियो। उहाँले सरकारले गैरआवासीय नेपालीलाई कानुनी संरक्षण दिन तयार रहेको बताउँदै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
उहाँले एनआरएनएको वास्तविक पुँजी पैसा मात्र नभई विदेशमा रहनुभएका नेपालीहरूको अनुभव, ज्ञान र क्षमता पनि रहेको बताउनुभएको थियो। साथै, सरकारले अब ‘रिटर्न टु नेपाल’ भन्दा पनि ‘कनेक्ट टु नेपाल’को अवधारणामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। एनआरएनएले बैठक बस्ने र सरकारसँग माग राख्ने परम्पराबाट माथि उठेर आर्थिक, सामाजिक तथा ज्ञान हस्तान्तरणलगायतका विषयलाई आफ्ना मुख्य एजेन्डा बनाउनुपर्ने उहाँको भनाइ थियो।
समारोहमा एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनाल र एनआरएनए आईसीसीका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले पठाउनुभएको शुभकामना सन्देशको भिडियोसमेत प्रस्तुत गरिएको थियो।
एनआरएनए आयरल्यान्डका अध्यक्ष चेतराज वलीले ऐतिहासिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण एनआरएनए अभियानकर्ताहरूलाई धन्यवाद दिनुभएको थियो।
उद्घाटन कार्यक्रममा स्कटल्यान्डमा बसोबास गर्दै आउनुभएका सजलकेशर कार्कीले स्कटल्यान्डको राष्ट्रिय धुन (बैगपाइप) बजाएर प्रस्तुति दिनुभएको थियो भने एनआरएनए आयरल्यान्डकी उपाध्यक्ष प्रजया न्यौपानेले सांस्कृतिक झाँकी प्रस्तुत गर्नुभएको थियो।
युरोप संयोजक रोबर्ट लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युरोप महिला संयोजक बाबा राजेश्वरी थापा र मुकुन्द भुसालले संयुक्त रूपमा गर्नुभएको थियो।






