कार्डिफ । बेलायतको वेल्स राज्यस्थित कार्डिफमा शनिबार भव्य रथयात्रा सम्पन्न भएको छ ।
टाइ कृष्ण सिमरु(इस्कोन)को आयोजनामा रथयात्रा सम्पन्न भएको हो । मध्याह्न १२ बजेबाट सुरु भएको रथयात्रा कार्डिफको हाइस्ट्रिट क्षेत्र परिक्रमा गर्दै दिउँसो २ बजे ब्युटपार्क पुगेपछि सत्संग सभामा परिणत भएको थियो। रथयात्रामा स्थानीय विभिन्न संघसंस्थाको समेत सहभागिता रहेको थियो।
फूलले सजाइएको रथमा भगवान् जगन्नाथ सुभद्रा र बलभद्र (कृष्ण सुभद्रा र बलराम)का मूर्ति राखेर नगर परिक्रमा गराइएको थियो। रथयात्राका क्रममा सहभागीहरूले ‘हरेराम हरेकृष्ण’ भजन गाउँदै नृत्यसमेत प्रस्तुत गरेका थिए।
भक्तजन तथा स्थानीय समुदायको उल्लेख्य सहभागिताले रथयात्रालाई थप आकर्षक बनाएको थियो। निःशुल्क आयोजना गरिएको सत्संग कार्यक्रममा योग तथा ध्यान, भजनकीर्तन, अन्तरक्रिया र विभिन्न प्रदर्शनीलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो।
हरेक वर्ष आयोजना हुँदै आएको रथयात्रामा भारतमा मनाइने प्रसिद्ध जगन्नाथ रथयात्राको झल्को देखिएको सहभागीले बताएका छन् ।






