लन्डन। मगर संघ यूकेको आयोजनामा बेलायतमा हुन लागेको प्रथम सहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ मा १३८ व्यक्तिगत खेलाडी र २२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
प्रतियोगिता आगामी १५ अगस्ट २०२६, शनिबार मेडेनहेडस्थित बर्ड हिल्स गल्फ सेन्टरमा आयोजना हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम दर्ता बन्द भइसकेको छ।
नेपालका प्रथम सहिद लखन थापा मगरको योगदान र बलिदानको स्मरण गर्दै बेलायतमा रहेका नेपाली गल्फ खेलाडीबीच मित्रता, सद्भाव र खेलकुद भावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मगर संघ यूकेले जनाएको छ।
लखन थापा मगर शिल्डका लागि २२ टिम
प्रतियोगिताको टिम विधामा पाँच खेलाडी सम्मिलित हुनेछन्। तीमध्ये उत्कृष्ट चार खेलाडीले प्राप्त गरेको स्कोरका आधारमा विजेता टिम चयन गरिनेछ।
टिम विधाको विजेताले प्रतिष्ठित लखन थापा मगर शिल्डसहित ५०० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछ। उक्त शिल्ड तथा नगद पुरस्कार प्रतियोगिताको मुख्य आयोजक मगर संघ यूकेले प्रायोजन गरेको हो।
दोस्रो स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ।
ग्रस र नेट विजेतालाई जनही २५० पाउन्ड
व्यक्तिगत प्रतिस्पर्धाअन्तर्गत ग्रस विधाका विजेताले शिल्डसहित २५० पाउन्ड नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका ओआईसी क्याप्टेन टम ढेगाले ग्रस विजेताको शिल्ड तथा नगद पुरस्कार प्रायोजन गरेका हुन्।
नेट विधाका विजेतालाई पनि विशेष ट्रफीसहित २५० पाउन्ड नगद पुरस्कार प्रदान गरिनेछ। नेट विजेताको ट्रफी तथा पुरस्कार A-Star Financial Solutions UK ले प्रायोजन गरेको हो।
A-Star Financial Solutions UK ले प्रतिष्ठित प्रतियोगितामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सफल आयोजनाका लागि मगर संघ यूकेलाई शुभकामना दिएको छ। कम्पनीले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीलाई पनि सफलताको शुभकामना व्यक्त गरेको छ।
तीन ह्यान्डिक्याप डिभिजन
खेलाडीको ह्यान्डिक्यापका आधारमा प्रतियोगितालाई डिभिजन ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक डिभिजनमा प्रथम र दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता स्ट्रोक प्ले प्रणालीमा सञ्चालन हुनेछ। १९ देखि २४ ह्यान्डिक्याप भएका खेलाडीले भने स्टेबलफोर्ड प्रणालीअन्तर्गत प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा अधिकतम प्लेइङ ह्यान्डिक्याप २४ तोकिएको छ।
टिममा ह्यान्डिक्याप ०–६ भएका दुई, ७–१२ भएका दुई र १३–१८ भएका एक खेलाडी समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। खेलाडीले व्यक्तिगत र टिम दुवै विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्।
अन्य आकर्षक विधा पनि समावेश
प्रतियोगितामा ‘लङ्गेस्ट ड्राइभ’ र ‘नियरेस्ट टु द पिन’ विधाका पुरस्कारसमेत राखिएका छन्। सिनियर तथा जुनियर विधामा पनि छुट्टाछुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
बेलायतभर रहेका नेपाली गल्फ खेलाडीको उत्साहजनक सहभागिताले प्रतियोगितालाई व्यापक र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।
बिहान ८ बजे पहिलो टी अफ
कार्यक्रमअनुसार खेलाडी बिहान साढे ६ बजेदेखि क्लब हाउसमा उपस्थित हुनेछन्। बिहान ७ बजे दर्ता तथा चिया–कफीको व्यवस्था हुनेछ। पौने ८ बजे प्रतियोगितासम्बन्धी जानकारी तथा सामूहिक तस्वीर खिचेपछि बिहान ८ बजे पहिलो टी अफ हुनेछ।
प्रतियोगितापछि साँझ ७ बजे थामेल रेस्टुरेन्ट एन्ड बारमा पुरस्कार वितरण तथा रात्रिभोज आयोजना गरिनेछ।
मगर संघ यूकेले प्रथम सहिद लखन थापा मगरको स्मृतिमा आयोजना गर्न लागेको यस प्रतियोगिताले बेलायतको नेपाली समुदायमा खेलकुद, एकता, मित्रता र आपसी सद्भाव थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।





