काठमाडौं । तामाङ पत्रकार संघले ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा प्रदान गर्ने ‘तामाङ मिडिया अवार्ड–२०८३’का लागि दुई जना तामाङ पत्रकारलाई छनोट गरेको छ ।
संघीय कार्यसमितिले प्रदेश तथा जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा पत्रकार संघको मापदण्डअनुसार छनोट समिति हुँदै आएको सिफारिस र संघीय सचिवालय समितिको बिहीबार बैठकको निर्णयअनुसार मकवानपुरका जमुना तामाङ र काभ्रेपलाञ्चोकका जगतमान तामाङलाई ‘तामाङ मिडिया अवार्ड–२०८३’ प्रदान गर्ने निर्णय गरेको महासचिव सरस्वती तामाङले विज्ञप्तिमार्फत जनाएका छन् । महासचिव तामाङका अनुसार यस वर्षको अवार्डका लागि संघका विभिन्न प्रदेश तथा जिल्ला समितिबाट प्राप्त सिफारिसका आधारमा छनोट समिति हुँदै सिफारिस गरिएको र संघीय सचिवालय समितिको निर्णयअनुसार जमुना तामाङ र जगतमान तामाङलाई अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो ।
विद्युतीय सञ्चारमाध्यमबाट पहिलोपटक २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष भदौ १ गते तामाङ प्रसारण दिवस मनाउँदै आइएको छ । सोही अवसरमा देशभरिका तामाङ सञ्चारकर्मीमध्येबाट एक महिला र एक पुरुषलाई ‘तामाङ मिडिया अवार्ड’बाट सम्मान गर्दै आएको संघले जनाएको छ ।
संघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सञ्चारमा तामाङ समुदायको पहुँच विस्तार तथा तामाङ पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि संघले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । संघले सरकारी निकाय, स्थानीय सरकार तथा गैरसरकारी संघसंस्थाको सहकार्यमा पत्रकारिता तालिम, सञ्चार अनुसन्धान, बुलेटिन तथा पत्रिका प्रकाशन, पुस्तक प्रकाशनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
संघले तामाङ भाषा, साहित्य, संस्कृति, धर्म तथा कलाको प्रवर्द्धनलगायतका विषयमा अन्तरक्रिया, बहस र छलफलसमेत गर्दै आएको छ । हाल संघको २ वटा प्रदेश, २३ वटा जिल्ला र दक्षिण कोरिया प्रवास कार्यसमिति विस्तार भइसकेको विज्ञप्तिमा उल्लेख छ ।







