एनआरएनएको प्राथमिकतामा महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकास

SHARE:

लन्डन । महिला सशक्तीकरणसँगै विदेशमा रहेका नेपाली महिलाले भोगिरहेका समस्याप्रति पनि गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ।

ग्वाङझाओमा भइरहेको १९औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँहरूले पढाइ, रोजगारी तथा विवाह गरेर विदेशिएका नेपाली महिलाहरू विभिन्न समस्याबाट पीडित हुने गरेको बताउनुभयो।
चीनमा व्यवसाय गर्दै आउनुभएकी एनआरएनए केन्द्रीय सदस्य खुश्बु अग्रवालले विदेशिएका महिलालाई कतिपय अवस्थामा घरपरिवारबाट समेत बेवास्ता हुने गरेको बताउनुभयो। उहाँले विदेशी नागरिकसँग विवाह गरेर विदेशिएका कतिपय नेपाली महिला पारिवारिक हिंसाबाट समेत पीडित हुने गरेको उल्लेख गर्नुभयो।

एनआरएनए हङकङकी उपाध्यक्ष तथा व्यवसायी कविता गुरुङले महिलाका लागि परिवार र व्यवसायलाई सँगसँगै अघि बढाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो।
एनआरएनए आईसीसी उपमहासचिव अनुजा प्रधानले युरोपमा समेत महिलाले घरपरिवारका लागि गरेका दुःख र संघर्षलाई सामान्य रूपमा लिने प्रवृत्ति रहेको बताउनुभयो। उहाँले युरोपमा समेत महिलाहरू अझै पछाडि परेको उल्लेख गर्दै नेपालमा महिला सशक्तीकरणका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो।

एनआरएनए सहकोषाध्यक्ष गंगा खतिवडा कुँवरले कोरियन कस्मेटिक सामग्री नेपालमै उत्पादन गरी महिलालाई रोजगारीमा प्राथमिकता दिइएको बताउनुभयो। उहाँका अनुसार उहाँको कम्पनीमा १५० भन्दा बढी महिलाले काम गरिरहेका छन्।
एनआरएनए महिला विभागकी संयोजक राधिका गुरुङ (टीका) ले विदेशमा रहेका नेपाली महिलाको सशक्तीकरणका लागि महिला सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले महिलाहरू हरेक क्षेत्रमा सबल बन्दै गएको बताउँदै गृहिणीमा मात्र सीमित नरही शैक्षिक तथा उद्यमशील क्षेत्रमा समेत महिलाहरू अघि बढिरहेको बताउनुभयो।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले महिलालाई आर्थिक रूपमा अघि बढाउन सके मात्र वास्तविक सशक्तीकरण सम्भव हुने बताउनुभयो। रोजगारीका लागि महिलालाई विदेश जान रोकिएका कारण महिला हिंसा तथा बेचबिखनको जोखिमसमेत बढेको उहाँको दाबी थियो।

उहाँले खाडी मुलुकमा रोजगारीका लागि महिलालाई जान रोकिए पनि विदेश जानबाट पूर्ण रूपमा रोक्न नसकिएको बताउनुभयो। उहाँका अनुसार प्रतिबन्धका कारण महिलाहरू वैधानिक बाटोबाट जान नपाएर अवैधानिक बाटो प्रयोग गर्न बाध्य भइरहेका छन्।

उहाँले विदेशमा हिंसामा परेका महिलाबाट आफूलाई दैनिकजसो फोन आउने गरेको बताउँदै महिलालाई विदेश जान रोक्नुभन्दा सुरक्षित, व्यवस्थित र नियमन गरिएको वैदेशिक रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।
महिलाका मुद्दा महिलाले मात्र नभई पुरुषले समेत उठाउनुपर्ने उहाँको भनाइ थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!