लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ‘ग्लोबल बुद्ध हेरिटेज प्रमोसन क्याम्पेन’अन्तर्गत लन्डनस्थित नेपाली दूतावासमा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ।
नेपालको सांस्कृतिक, आध्यात्मिक तथा पर्यटन सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दीर्घकालीन अभियानअन्तर्गत यही २९ अगस्ट २०२६ मा बुद्ध प्रतिमा स्थापना समारोह एनआरएनए एनसीसी युके र बुद्ध फाउन्डेसन युकेको सहकार्यमा आयोजना गर्न लागिएको हो। समारोह बिहान ११ बजे नेपाली दूतावास, १२ए केन्सिङ्टन प्यालेस गार्डेन्स, लन्डनमा हुनेछ।
समारोहमा ३ फिट अग्लो सुनौलो रंगको आसनस्थ बुद्धको प्रतिमा नेपाली दूतावास परिसरमा स्थापना गरिने एनआरएनए आईसीसीका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोमनाथ सापकोटाले जानकारी दिएका छन् । प्रतिमाले नेपाल, बुद्ध जन्मस्थल लुम्बिनी तथा शान्ति, करुणा, सद्भाव र अहिंसाको विश्वव्यापी सन्देशलाई प्रतिनिधित्व गर्ने विश्वास गरिएको छ।
एनआरएनए आईसीसी, एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरू, नेपाली कूटनीतिक नियोग, सांस्कृतिक संस्था तथा सम्बन्धित निकायहरूको सहकार्यमा अघि बढाइएको अभियानले भगवान् बुद्धको जन्मभूमि लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
अभियानअन्तर्गत अन्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा समेत बुद्धका प्रतिमा स्थापना गर्ने योजना रहेको छ। यसै क्रममा अस्ट्रेलियाको भिक्टोरियामा निर्माणाधीन द ग्रेट स्तुपा अफ युनिभर्सल कम्पासन परियोजनासमेत एनआरएनए एनसीसी अस्ट्रेलियाको सहयोग र सहकार्यमा अघि बढिरहेको जनाइएको छ।
प्रवक्ता सापकोटाकाअनुसार यो अभियान केवल सांस्कृतिक कार्यक्रममा सीमित नभई सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमसमेत बन्नेछ। यसले भगवान् बुद्धको जन्मभूमि नेपाललाई शान्ति, आध्यात्मिकता, संस्कृति तथा पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समारोहमा सहभागी हुन बेलायतस्थित एनआरएनए अभियन्ता, सदस्य तथा सम्बन्धित व्यक्तिहरूलाई आयोजकले आग्रह गरेको छ। सहभागी हुन चाहनेले २४ अगस्ट २०२६ सोमबारसम्म आफ्नो उपस्थिति पुष्टि गर्नुपर्ने जनाइएको छ । समारोहका लागि औपचारिक पोसाक निर्धारण गरिएको छ।






