परशु गुरूङ
लन्डन । ईलमपोखरी समाज यूकेले हरेक वर्ष ल्होछार कार्यक्रम र गृष्मकालीन कार्यक्रम आयोजना गर्ने गर्दछ । यस पटक यो गृष्मकालीन कार्यक्रम शनिबार १५ अगष्टमा अल्डरवुड लिजर सेन्टर अल्डरसट परिसरमा सभ्य र भव्य रुपमा सम्पन्न भयो ।
लमजुङ समाज यूकेका अध्यक्ष तथा ईलमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यमा, विशेष अतिथि लमजुङ समाज यूकेका आमा समूहकी अध्यक्ष तारा गुरुङ र लमजुङ समाजका निवर्तमान अध्यक्ष दलबहादुर गुरुङ, अन्य अतिथिहरुमा गोरखाली समाज यूकेकी अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनकी धर्मपत्नी चुन्नु गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङ, लमजुङ समाज यूकेका आमा समूहकी निवर्तमान अध्यक्ष माला घले, ईलमपोखरी समाज यूकेका मानार्थ सदस्य तथा लमजुङ समाज यूकेका पूर्वाध्यक्ष बोहत गुरुङ, उनकी धर्मपत्नी लक्ष्मी गुरुङ, अर्की मानार्थ सदस्य ईन्द्र गुरुङको उपस्थिति रहेको थियो ।
यो कार्यक्रम दुई चरणमा संचालन गरिएको थियो । पहिलो चरण बाह्य खेलकुद, जसमा पुरुषहरुका लागि भलिबल, फुटबल र महिलाहरुको भकुण्डो पास गर्ने म्युजिकल फन गेमसमाजका सल्लाहकार हरि गुरुङ र लोकप्रिय गायिका मन्जु बिकबीज भिडन्त भएको ठाडोभाकाले सबैजनालाई बडो मनोरंजन दिलाएको थियो भने हलभित्र औपचारिक कार्यक्रम, स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम र भाग्योदय चिट्टा समाबेस गरिएको थियो ।

महिला फन गेममा समाजका प्रथम महिला नन्दा गुरुङले प्रायोजन गरेको पुरस्कारमा समाजका सल्लाहकार तथा लमजुङ समाजकी पूर्वअध्यक्ष जुना गुरुङ प्रथम र कमला गुरुङ द्वितीय भई हात पारेका थिए ।
परशु गुरुङको अध्यक्षतामा सचिव कुमार गुरुङले संचालन गरेको औपचारिक कार्यक्रमलाई अध्यक्ष परशु गुरुङ, प्रमुख अतिथि पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ र विशेष अतिथि तारा गुरुङद्वारा पानसमा दिप प्रज्वोलन गरी समुद्घाटन गरिएको थियो ।
कार्यक्रमको प्रारम्भमा राष्ट्रिय धुनपश्चात् भर्खर मात्र देहवासन भएका समाजका सदस्य स्व. ज्ञानबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणा गरिएको थियो ।
उपाध्यक्ष प्रकाश गुरुङको स्वागत मन्तव्यपश्चात् अध्यक्ष परशु गुरुङ र श्रीमती नन्दा गुरुङले गोरखाली समाज यूकेका अध्यक्ष टकमाया गुरुङ, गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष टेकमान गुरुङ र उनकी धर्मपत्नी चुन्नु गुरुङ, तनहुँ समाज यूकेका अध्यक्ष सन्त गुरुङलाई खादा क्रेगी र क्रमु लगाई सम्मान गरेका थिए भने नेपालबाट आएका कलाकारहरु प्रिया गुरुङ, मन्जु बिक र लक्ष्मी गुरुङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

गोरखा मिडियाका प्रबन्धक मिलन तमुलाई उनले बेलायतमा मात्र नभएर स्वदेश नेपालमा विभिन्न क्षेत्रमा पत्रकारिताको माध्यमबाट पुऱ्याएको अतुलनीय योगदानप्रति प्रशंसा गर्दै क्रेगी खादा लागाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
औपचारिक कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मोहनसिंग गुरुङ, विशेष अतिथि तारा गुरुङ र प्रमुख अतिथि पूर्णराज गुरुङको मन्तव्यपश्चात् समाजका अध्यक्ष परशु गुरुङले आफ्नो मन्तव्य राखी सबैजनालाई हार्दिक धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रमलाई समापन गरिएको थियो ।
सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङको संयोजकत्वमा राखिएको सांस्कतिक कार्यक्रममा पूर्वी लमजुङमा अति लोकप्रिय बाह्रमासे घाँटु नाच २०१६ मा नेपाली मेलामा नृत्यमा प्रथम भएका जुम्ल्याह श्रेया र विशेष अतिथि लमजुङ समाजका आमा प्रमुख तारा गुरुङको बेजोड प्रस्तुतिका साथ स्थानीय नानीहरुको सुन्दर नृत्य प्रस्तुत गरिएको थियो ।
सबिता गुरुङको उद्घोषणमा चर्चित कलाकारहरु लक्ष्मी गुरुङको मनमोहक नृत्य, प्रिया गुरुङ र मञ्जु बिकको दमदार गायन प्रस्तुतिमा कार्यक्रममा उपस्थित भएका सबै वर्गका दर्शकहरुले नाचेर भरपुर मनोरन्जन गरेका थिए ।
कार्यक्रमको अर्को रौनकता राफल ड्र थियो। आकर्षक पुरस्कारहरुसहितको राफल ड्रलाई समाजका सचिव मनोज गुरुङ र कार्यसमितिका सदस्य सबिता (कार्यक्रम उद्घोषिका)ले आकर्षक ढंगले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा अतिथि कलाकारहरु लक्ष्मी गुरुङ, प्रिया गुरुङ, मन्जु बिक, स्थानीय कलाकार शिल्बु गुरुङ, ईली गुरुङ, श्रेया गुरुङ र तारा गुरुङलाई अध्यक्ष परशु गुरुङ, सचिव कुमार गुरुङ र सांस्कृतिक सचिव मोतीप्रसाद गुरुङ, नन्दा गुरुङले उपहार प्रदान गरी धन्यवाद ज्ञापन गरी बिदाइ गरेका थिए ।
समाजका सल्लाहकार तथा लमजुङ समाजका पूर्वाध्यक्ष तुलाराम गुरुङको संयोजकत्वमा डि लाउन्ज रेष्टुरेन्ट एण्ड बारले बिबिक्यू अनि खाना उपलब्ध गराएका थिए । बाह्य खेलकुद सहसचिव मनोज गुरुङको संयोजकत्वमा संचालन भएको थियो भने आमा समूहको फन गेमको संचालन सचिव कुमार गुरुङ र उपा गुरुङले प्रतिनिधित्व गरेका थिए ।
समग्रमा सुरक्षासम्बन्धी र प्राथमिक उपचारमा उपाध्यक्ष प्रकाश गुरुङले प्रतिनिधित्व गरेका थिए । करिब २७५ जनाको उपस्थिति रहेको कार्यक्रम करिब १२:३० बजे सुरु भई २२:३० बजे समापन भएको कार्यक्रममा दिनेश गुरुङ (डीएमटी) ले साउन्ड सिस्टमको प्रबन्ध गरेका थिए ।






