काठमाडौं । मेग्मा गुरुङले ११ औं विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा कांस्य पदक जितेकी छन् ।
दक्षिण कोरियामा भएको च्याम्पियनसिपमा प्रतियोगिताको फाइट ग्योरोगी विधामा मेग्माले कांस्य पदक जितेकी हुन् । मेग्माले गत संस्करणमा रजत जितेकी थिइन् ।
यसैबीच नेपालबाट महिला ४८-५२ किलो तौल समूहमा सहभागी तमु धीं नेपाल कास्कीअन्तर्गत तमु विद्यार्थी समिति सदस्य मेग्मा गुरुङले नेपालको लागि कांस्य पदक दिलाकोमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलगायतले हार्दिक बधाई र शुभकामना दिएका छन् ।
नेपालका दीपक छन्त्यालले स्वर्ण पदक हात पारेका छन् । दीपकले ८०–८४ केजी तौल समूहमा स्वर्ण पदक जित्दा तीन चरणमा सफलता पाए । पहिलो खेलमा जर्मन खेलाडीलाई हराएका उनले त्यसपछि सेमिफाइनलमा दक्षिण कोरियाका खेलाडीलाई पराजित गरेर फाइनल तय गरे । फाइनलमा दीपकले ब्राजिलका खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
च्याम्पियनसिप दक्षिण कोरियामा अगस्ट २२ तारिखदेखि जारी छ ।






